Techie IT
Mission Khabar

उपत्यकामा यसकारण ट्राफिक जामको निरन्तरता, कहिले होला व्यवस्थापन ?


काठमाडौं । काठमाडौँ उपत्यकामा सवारी साधनका चापका आधारमा सडक र चोकको उचित व्यवस्थापन नहुँदा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ । सवारीसाधन दैनिक थपिने तर भएका सडक विस्तार, व्यवस्थापन र नयाँ सडक निर्माणको गतिमा आएको ढिलाइले अवस्था झन् भयावह बन्दैछ । सडक कोरिडोरको विकास र सडक विस्तारबाट जामलाई केही कम गर्ने प्रयास भएपनि सडक निर्वाध सवारी साधान गुडाउन भन्दा पार्किङका रुपमा दुरुपयोग गर्ने क्रम बढिरहेको छ ।

यस्तो लाग्छ मानौं, ट्राफिक जाम शहरवासीको दैनिक जीवनको अभिन्न हिस्सा नै बनिसकेको छ । हुँदा हुँदा त अहिले आएर जेसुकै कारणले कतै समयमा पुग्न सकिएन भने पनि बहाना चाहिँ ‘ट्राफिक जाम’ भन्ने थेगा जस्तै बनिसकेको छ । हुन त, ट्राफिक प्रहरीले तयार पारेको उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजनाले नै करिडोर क्षेत्रका सडक र अन्य सडक निर्माणको ढिलासुस्ती, सडक छेउमा मापदण्डविपरीत रहेका ग्यारेज, पेट्रोलपम्प, वर्कशप, उचित पार्किङस्थलको अभाव, सचेतनाको अभाव, प्रविधिको प्रयोग हुन नसक्नुलगायत कारणले समस्या बल्झिरहेको देखाएको छ । यति मात्रै होइन्, महानगरीय ट्राफिक प्रहरी महाशाखाका निवर्तमान प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालको संयोजकत्वमा गठित कार्यदलले समयसापेक्ष कानूनको सुधार हुन नसक्नु, दक्ष चालकको अभाव, सम्बद्ध निकायबीच प्रभावकारी समन्वय र सहकार्यको अभाव हुनुलगायतले पनि उपत्यकाको ट्राफिक व्यवस्थापनमा चुनौती थपिँएको औल्याएको छ । तर ट्राफिक महाशाखाका प्रमुख फेरिएसँगै लागू हुने विभिन्न अभियानले समेत उपत्यकाको जाम व्यवस्थापन गर्न सकेका छैनन ।

अहिले त उपत्यकाका अधिकांश सडकमा ट्राफिकसँगै ट्राफिक लाइट जडान गरिएका छन् । यसले सडकमा हुने मनलाग्दी आवागमन रोकेपनि जाम व्यवस्थापन गर्न सकेको छैन । बरु सडक प्रयोकर्ताहरु ट्राफिक लाईट राखेर जाम हट्नुको साटो बढेको गुनासो गरिरहेका छन् । निश्चित समय तोकेर राखिएको लाईटले ट्राफिकको खटाईमात्रै कम गरेको छ । सडकको कुन दिशाबाट कति गाडी आउँछन, चाप कत्तिको हुन्छ, त्यसको आधारमा सवारी साधनको आवतजावत मिलाउनेगरि जामलाई सेन्सर गरेर त्यही अनुसार ट्राफिक लाईट चल्ने व्यवस्था नहुँदासम्म उपत्यकाको जाम व्यवस्थापन असम्भव जस्तै देखिएको छ ।

हुन त, काठमाडौं उपत्यकाका सडकमा केही केही भने सुधार देखिएका छन् । प्रधानमन्त्रीको निर्देशन र सडक विभागको ताकेतासँगै खाल्डाखुल्डी पुरिएका छन् । धुलाम्मे हुने काठमाडौँका सडक केही निश्चित ठाउँमा बाहेक चिल्ला सुकिला बनेका छन् । मुख्य सडक क्षेत्र चिल्ला र सडक सङ्केतयुक्त बनेपनि उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बन्ने अवस्था छैन । सवारीको अत्याधिक चाप, साँघुरा सडक, चोकगल्लीको उचित व्यवस्थापन नहुँदा सवारी आवागमनमा अवरोध सिर्जना हुँदैआएको छ । यातायातमा जोरबिजोर प्रणाली लागू हुँदा पनि सवारी जाम नरोकिँएपछि गृह मन्त्रालयले एकीकृत कार्यायोजना बनाएर लागू गर्ने प्रक्रिया अघि बढाएको थियो । ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजना २०७७’ तयार भएपनि तत्कालीन र दीर्घकालीन गर्नुपर्ने कामलाई पुरा नगर्दासम्म समस्या समाधान हुने देखिएको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्थानीय तहका साथै सडक सम्बद्ध निकायको समन्वय पनि उत्तिकै आवश्यक देखिएको छ ।

सडक जाममा सबैभन्दा ठूलो समस्या भनेकै सडकमा हुने अनधिकृत पार्किङ हुन् । सशुल्क र निःशुल्क पार्किङको पुनरावलोकन गरी कार्यान्वयन गर्नुपर्ने, करिडोर क्षेत्रमा पनि उचित स्थानमा पार्किङको व्यवस्थापनका साथै सडक छेउका खाली जमिनमा स्मार्ट पार्किङको व्यवस्थापन गर्नुपर्ने भनिएपनि सडकको आवागमन अवरुद्ध गरेर पार्किङ भैरहेकै छन् । बढी जाम र भीडभाड हुने तीनकुने, जडीबुटी, कोटेश्वर, बबरमहल, सिंहदरबार क्षेत्रमा आवश्यकतानुसार अण्डरपास र ‘फ्लाइओभर’ सडक निर्माण गर्नुपर्ने भनिएपनि अपवाद बाहेक अहिलेसम्म अध्ययनको काम समेत सुरु हुन सकेको छैन । जोड दिएको छ । पशुपति क्याम्पस, मित्रपार्क, रातोपुल, गौशालालगायत क्षेत्रमा तथा वाग्मती, धोवीखोला, मनोहरा, हनुमन्ते करिडोरका पुलपुलेसा, सडक व्यवस्थापनमा जोड दिइएपनि व्यवस्थापन पक्ष अत्यन्तै कमजोर देखिएको छ ।

कतिपक्ष सडक क्षेत्रमा क्षमताभन्दा बढी सार्वजनिक सवारी साधनलाई रुट इजाजत वितरण गरिदा समेत जामले निरन्तरता पाउँदैआएको छ । सडक सरोकारका विज्ञका अनुसार सडक बत्तीसँगै जिपिएससहितको सवारी साधान ट्रयाकिङ प्रणाली विकास नहुँदासम्म उपत्यकाको सडक व्यवस्थापन सम्भव देखिदैन । अझ विना सडक पूर्वाधारको क्षमताको अध्ययन बिनै सार्वजनिक गाडी र निजी गाडी थप्दै जाँदा काठमाडौंको सडकले धान्न नसक्ने जाम बढेको छ । २०४८ सालमा जम्मा ४८ हजार ६ सय ४२ वटा गाडी दर्ता भएको काठमाडौं उपत्यकामा अहिले यस्ता सवारी साधनको संख्या १२ लाख नाघ्न लागेको छ । काठमाडौं उपत्यकाले धान्न सक्ने जनसंख्या, त्यसको लागि चाहिने सवारी संख्या, सवारीको चापलाई कम गराउने उपाय र विधिहरुको बारेमा अध्ययन गर्न निक्कै ढिला हुँदै कहिल्यै समाधान नहुनेगरि जामले विस्तार पाएको कतिपयले चिन्ता गर्न थालेका छन् ।

काठमाडौं उपत्यकाका खोडाकोरिडोर तथा भित्रि मुख्य सडक समेत गरेर करिब २ हजार किलोमिटर सडकको पँहुच विस्तार भएको छ । तर यो सडकमा क्षमता भन्दा झण्डै दोब्बर हुनेगरि १२ लाख हाराहारि सवारी साधन गुडिरहेका छन् । चोक चोकमा ट्राफिक लाइट राखेर केही मिनेट रोक्ने पठाउने गरेर मात्रै उपत्यकामा जाम हट्ने देखिदैन । यसका लागि बैकल्पिक सडकको व्यवस्थापन उपलब्ध सडकमा पार्किङ व्यवपार लगायतका नाममा भइरहेको अधिग्रहण रोक्न र व्यवस्थित गर्न सक्ने हो भने पनि तत्काललाई जामबाट केही राहत दिन सकिन्छ । यतातर्फ सडक संबद्ध निकाय र ट्राफिक प्रहरीको ध्यान पुग्न जरुरी छ ।।


क्याटेगोरी : देश / प्रदेश, यातायात / यात्रा, विकास / पुर्वाधार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्