Techie IT
Mission Khabar

देशका ७५ जिल्लामा निषेधाज्ञा, अब “स्मार्ट लकडाउन” को चर्चा


काठमाडौं । काठमाडौं उपत्यकासहित देशका ७५ जिल्लामा अहिले पनि निषेधाज्ञा जारी गरिएको छ । विभिन्न जिल्लागत रुपमा वैशाख १३ देखि जारी गरिएको निषेधाज्ञाकै कारण कोरोना संक्रमण र मृत्यु दरमा केही कमी आएपनि निषेधाज्ञा जारी राख्ने वा हटाउने भन्ने बारे जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकार अलमल देखिएका छन् ।

लामो समयको बन्दाबन्दीले अर्थतन्त्रसँगै नागरिकको जनजिवन प्रभावित भैरहँदा अहिले स्मार्ट लकडाउनको चर्चा समेत सुरु भएको छ । कोभिड–१९ निर्देशक समितिको केही दिन अघि बसेको बैठकले अबका दिनमा ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो । यसको मोडालिटी बनाउने जिम्मा कोभिड–१९ संकट व्यवस्थापन समिति ९सीसीएमसी०लाई भएपनि अहिलेसम्म तयार भएको छैन कतिपय स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले भने थप केही क्षेत्रलाई खुलाउँदै केही समय निषेधाज्ञा बढाउन र त्यसको जोखिम आँकलन गरेर स्मार्ट लकडाउनबारे निर्णय दिनुपर्ने बताइरहेका छन् । हाल ७३ जिल्लामा पूर्ण र दुई जिल्लामा आंशिक निषेधाज्ञा जारी रहेको गृह मन्त्रालयले जानकारी दिएको छ । मुस्ताङ र ताप्लेजुङमा भने आंशिक निषेधाज्ञा जारी रहेको छ । जिल्ला प्रशासन र स्थानीय सरकारलाई नै निषेधाज्ञा गर्ने, थप्ने वा हटाउने अधिकार दिइएको छ ।

अब भने विभिन्न पेशा, व्यवसायलाई खुला गर्दै जनस्वास्थ्यका मापदण्डमा कडाईका साथ स्मार्ट लकडाउन गर्ने तयारी सरकारी तबरबाट भैरहेपनि के हो यो लकडाउन भन्ने एकिन भएको छैन । स्थानीय प्रशासनले थप केही प्रावधानलाई खुकुलो बनाउँदै उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले तीन प्रमुख जिल्ला अधिकारी बसेर निषेधाज्ञाको मोडालिटीबारे टुंगो लगाउँने जानकारीसहित अबको निषेधाज्ञामा फेन्सी लगायतका पसल, बसेर खान नदिने सर्तमा रेस्टुरेन्ट लगायतलाई खुला गर्ने बारे छलफल भैरहेको बताउनुभयो । सीसीएमसीले ‘लकडाउन’ शब्द प्रयोग गरेको भए पनि यो हाल रहेको निषेधाज्ञालाई नै व्यवस्थित गर्ने विषय भएको कतिपयको बुझाई छ ।

स्मार्ट लकडाउनबारे विज्ञको मत
स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह जनस्वास्थ्यका मापदण्ड स्ट्रिक्ली लागू गरेर संक्रमण नसर्ने गरी जनजीवनलाई सामान्य बनाउँदै लगिने मोडालिटी नै ‘स्मार्ट लकडाउन’ भएको बताउनुहुन्छ । स्मार्ट लकडाउनमा भीडभाड कम हुने गरी बजार खोल्ने, व्यापार व्यवसाय सञ्चालन गर्ने, कम संख्यामा सवारीका साधन गुडाउने लगायतका रणनीति अख्तियारी गरिने उहाँको दाबी छ ।भाइरोलोजिस्ट डा. बासुदेव पाण्डे संक्रमणको ‘चेन ब्रेक’ गर्ने उपाय अवलम्बन नगरी लागू गरिने स्मार्ट लकडाउनको अर्थ नहुने बताउनुहुन्छ । संक्रमणको चेन ब्रेक गर्नका लागि जोखिमयुक्त ठाउँमा कन्ट्याक ट्रेसिङको आधारमा परीक्षण गर्नुपर्ने, संक्रमित पहिचान गरेर आइसोलेट गर्नुपर्ने, संक्रमण पुष्टि भएकाहरुलाई उपचारको व्यवस्था गर्नुपर्ने, धेरैभन्दा धेरै नागरिकलाई भ्याक्सिनको व्यवस्था गर्नुपर्ने अनि मात्रै बाँकी बिषयमा सोच्नुपर्ने उहाँको जिकिर छ । संक्रमणको चेन ब्रेक गराउनका लागि लकडाउन र निषेधाज्ञा मात्रै उत्तम विकल्प नहुने भन्दै डा. बासुदेव पाण्डे स्मार्ट लकडाउनबारे पर्याप्त अध्ययनसहित जनताको अनविज्ञता तोड्नुपर्ने बताउनुहुन्छ । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन समेत संक्रमणको जोखिम टरिनसकेको भन्दै पहिलो र दोस्रो लहरबाट जोगिन कसरी चुक्यौं भन्ने विषयमा व्यापक समीक्षा गरेर मात्रै अघिल्लो रणनीति तय गरिनुपर्ने बताउनुहुन्छ ।

अब अर्थतन्त्र चलायमान गराउनेगरि संक्रमण धेरै देखिएका क्षेत्रलाई मात्र सिल गरेर परीक्षण र कन्ट्रयाक ट्रेसिङलाई बढाउने प्रावधान समेटेर ‘स्मार्ट लकडाउन’ लागू गरिने बताइएको छ । यसको मोडालिटीमा स्वास्थ्य मापदण्ड पालना गराएर आर्थिक गतिविधिलाई अगाडि बढाउनु नै मुख्य रहनेछ । उपत्यका प्रशासनले पनि सवारीसाधन सञ्चालन गर्न दिनेरनदिनेबारे विज्ञसँग पनि छलफल थाल्दा अन्य जिल्लामा पनि यस्तै तयारी भैरहेको छ । संक्रमणको जोखिम अझै कम भइसकेको छैन, त्यसैले अझै एक हप्ता हेर्ने कि भन्नेमा जिल्ला प्रशासन कार्यालयहरु अलमलमा छन् । सरकारले यसअघि काठमाडौं उपत्यकासहित तराईका जिल्लाहरुमा ५०० र पहाडी जिल्लामा २०० जना सक्रिय संक्रमित पुगे निषेधाज्ञा लगाउने मापदण्ड बनाएको थियो । अब स्मार्ट लकडाउनको मोडालिटि कस्तो हुन्छ, यसले महामारि रोक्ला वा बढाउँला चौतर्फी चासो बढेको छ ।

स्मार्ट लकडाउनका कारण दक्षिण एसियामा भारत, नेपालजस्ता मुलुकको अर्थतन्त्र कडा लकडाउनले ठप्प हुँदा पनि पाकिस्तानमा भने धेरै ठूलो असर देखिएन । पाकिस्तानले गत वर्ष कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाएको लकडाउन थेग्न नसक्ने अवस्थमा पुगेपछि स्मार्ट लकडाउनको अवधारणा ल्याएर केही सफल भएको अवस्थामा नेपालमा यसैको अभ्यास सफल होला वा असफल ? हेर्न बाँकी नै छ । प्रशासनले कोभिड–१९ भाइरसको दोस्रो लहरको ‘चेन ब्रेक’ गर्ने भन्दै १६ वैशाखदेखि उपत्यकामा निषेधाज्ञा लगाएको थियो । पछिल्लो सातामा चरणबद्धरुपमा प्रशासनले निषेधका क्षेत्रहरुलाई खुकुलो बनाउँदै लगिएको छ । देशका कतिपय जिल्लाको निषेधाज्ञा यसैगरि लचिलो बनाइदैछ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्