Techie IT
Mission Khabar

आज देशभर मौसम बदली, पहाडी भू–भाग र नदीतटिय क्षेत्रमा सतर्कता अपनाउन अपिल


काठमाडौं । बिहीबार देशभरको मौसममा आंशिकदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । देशभर मनसुनी वायु सक्रिय बनेर दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा समेत बनेकाले देशभर आंशिकदेखी पूर्ण बदली हुने आँकलन गरिएको हो ।

अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भाग र बागमती प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिएको छ । बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, राति देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाइएको छ । केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेपनि बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैसँग महाशाखाले अपिल गरेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्