Techie IT
Mission Khabar

महाधिवेशन आयोजक कमिटी विघटनको तयारी, सम्भव होला त एमाले एकता ?


काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आगामी असारमा १६ गते बोलाएको छ । यो बैठकले ११९९ सदस्य रहेको राष्ट्रिय प्रतिनिधि परिषद विस्तार गरेर पूर्वमाओवादीको बादल समूहका ५६० जनाको नाम थप्न लागेको चर्चा चलिरहँदा स्थायी कमिटी सदस्य किरण गुरुङ भने बैठकले आयोजक कमिटी विघटन गरेर केन्द्रीय कमिटी ब्युँताउने बताउनुहुन्छ । पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षासहित केन्द्रीय कमिटीबाट थप निर्णय गरिने उहाँको दाबी छ ।

आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो यो बैठकबाट अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको ६ बुँदे एकताको प्रस्ताव अनुमोदन गराउने तयारी भएको पनि बताइएको छ ।महाधिवेशन आयोजक कमिटी निस्क्रिय बनाइने तयारीसहित बैठक बोलाइएको केन्द्रीय सदस्य विष्णु रिजालले पनि जानकारी दिनुभयो । पार्टी एकतालाई अगाडि बढाउन केन्द्रीय कमिटी क्रियाशील हुन्छ बनाइने उहाँको दाबी छ । अध्यक्ष ओलीले २३ जेठमा पार्टी एकताका लागि भन्दै ६ बुँदे प्रस्ताव सार्वजनिक गर्नुभएपनि । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अल्मलाएर धोखा दिने खेल भएको भन्दै सहमती जनाएको छैन ।

नेता नेपाल समूह भने ओलीले भनेजस्तो ३ जेठ नभएर २ जेठ २०७५ अगाडिको अवस्थामा एमाले फर्किनुपर्ने अडानमा यथावत छ । एमाले मिलाउन दोश्रो तहका नेताहरु अनौपचारिक सम्वादमा जुटिरहँदा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनतासमाजवादी पार्टीको उपेन्द्र—बाबुराम सम्मिलित बिपक्षी गठबन्धनमा सहभागि नेता नेपालले यथास्थितिमा गठबन्धनलाई धोका दिएर ओलीलाई साथ दिन नसक्ने बताउँदैआउनुभएको छ । अध्यक्ष ओली र नेता नेपालबीच एकअर्कालाई बिश्वास नगर्ने प्रबृत्ति हाबी हुँदा एमाले फुट उन्मुख बनेको छ । नेपाल समूहले छुट्टै पार्टी गठनको गृहकार्य गरेको चर्चा चलिरहँदा एमालेमै बसेर सधै बिद्रोही भुमिका निभाउने बताउनुभएको छ ।

बादल समूहबाट राष्ट्रिय प्रतिनिधि परिषदमा ५६० जनाको नाम
आगामी बुधबार बालुवाटारमा बस्ने नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकले राष्ट्रिय प्रतिनिधि परिषद विस्तार गर्ने भएसँगै पूर्वमाओवादीको बादल समूहले आफ्नो तर्फबाट ५६० जनाको नाम पठाएको छ । अहिले ११९९ सदस्य रहेको परिषद एमालेले गठन गरेको छ । एमालेको प्रतिनिधि परिषद कांग्रेसको महासमिति सदस्यजस्तै महाधिबेशनका लागि महत्वपूर्ण निकाय हो ।

सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि ओलीको नेतृत्वमा भएका एकलौटी निर्णयहरु खारेज हुनुपर्ने माधव नेपाल पक्षले माग गरिरहेकै बेला ओली पक्षले महाधिवेशन आयोजक समितिको बैठक राखेर विधानमा व्यवस्था गरिएअनुरुप राष्ट्रिय प्रतिनिधि परिषदमा पूर्वमाओवादीलाई थप गर्न लागेको चर्चा चलिरँदा कतिपय नेताहरु महाधिवेशन आयोजक समिति भंग गरेर केन्द्रीय कमिटिलाई ब्युताउन खोजिएको बताइरहेका छन् ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्