Techie IT
Mission Khabar

देशभर मनसुनी वर्षा, पहाडी र नदितटिय क्षेत्रमा सतर्कता अपनाउन अपिल


काठमाडौं । देशभरको मौसम बिहीबार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भैरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार रातिदेखि नै देशका विभिन्न क्षेत्रमा लगातार पानी परिरहेको र यो क्रम शनिबारसम्मै निरन्तर रहने जानकारी दिएको हो ।

निरन्तरको झरीका कारण विभिन्न क्षेत्रका नदीमा पानीको बहाव बढ्न थालेको छ । मनसुनी वायुको प्रभावले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकीसहितका देशका सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो र राति पनि अधिकांश स्थानमा भारी वर्षा हुने भएकाले तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । तनहुँको बिमल नगर, बन्दीपुर र सखर, चितवनको कालीखोला, सिन्धुलीको मरिनखोला, मकवानपुरको सिलिंगेलगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको बाढी सूचना केन्द्रले जनाएको छ । सिन्धुलीको कमला नदी, रानीबास बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेपछि धनुषा, सिरहालगायत तल्लो तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा रहनेहरुलाई राति सम्मै सतर्कता अपनाउन बिहान साढे ५ बजे नै एसएमएसमार्फत सूचना पठाइएको केन्द्रले जानकारी दिएको छ ।

बिहिबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । मनसुनी वर्षा सक्रिय भएकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन
सरकारले सबैसँग अपिल गरेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्