Techie IT
Mission Khabar

घर कर्जा सहज बनाउदै शुल्क आफैं तोक्न पाउनुपर्ने बैंकहरुको माग


काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघले घर कर्जामा हुने लगानीलाई सहज बनाइदिन नेपाल राष्ट्र बैंकसँग माग गरेको छ । आगामी आर्थिक वर्षका लागि आउने मौद्रिक नीतिका लागि सुझाव दिँदै संघले घर कर्जा सुरक्षित रहेको दाबीसहित यो क्षेत्रमा जाने कर्जामा लचकता अपनाइदिन आग्रह गरेको हो ।

संघले आवासीय कर्जाको सीमा तथा न्युन लागत आवास कर्जाको न्युनतम सीमा समेत बढाउन राष्ट्र बैंकलाई आग्रह गरेको छ । कोभिड महामारी पश्चात् अर्थतन्त्रलाई गति प्रदान गर्न घरकर्जा लगायत उपभोक्ता कर्जाको पनि योगदान रहने संघको जिकिर छ । भवन निर्माण लागत तथा जग्गाको समेत मूल्यवृद्धि भएको भन्दै व्यक्तिगत आवासीय कर्जाको सीमा २ करोड रुपैयाँ र न्यून लागत आवास कर्जाको सीमालाई २० लाख रुपैयाँ पुर्‍याउन राष्ट्र बैंक समक्ष संघले अनुरोध गरेको छ । यसैगरी बैंकले आफ्नो सामानको मूल्य आफैं निर्धारण गर्ने छुट प्रदान गर्नु पर्ने माग अघि सारेको छ । कर्जा प्रवाह, नवीकरण, स्वाप÷अग्रीम भुक्तानी तथा ग्राहकसँग लिने अन्य केही सेवा शुल्कका सीमाहरु अहिले राष्ट्र बैंकले नै तोक्दैआएको छ ।

बैंकहरुले ४.४ प्रतिशतसम्म ब्याजदर अन्तर राख्न पाउने भए पनि बजारको प्रतिस्पर्धाले गर्दा सो औसत हाल ३.५ प्रतिशत हाराहारीमा झरिसकेको भन्दै ब्याजदर अन्तरको सीमा राष्ट्र बैंकबाट तोक्नु सान्दर्भिक नदेखिएको दाबी गरेका छन् । भारत लगायतका छिमेकी मुलुकहरुमा समेत ब्याजदर अन्तरको सीमा नतोकिएको भन्दै यो विषयमा बैंकलाई नै निर्णय गर्न दिनुपर्ने सुझाव राष्ट्र बैंकलाई दिइएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्