Techie IT
Mission Khabar

संसद विरुद्धको मुद्धाको फैसला नआउँदै निर्वाचन कार्यतालिका सार्वजनिक गर्न हतारो


काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा अदलतमा परेको रिटमाथीको सुनुवाई सकिएर फैसला आउनै लाग्दा निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सत्तारुढ नेकपा एमाले र जनता समाजवादी पार्टीको विवाद मिलाउन नसकिरहेको आयोगले राजनीतिक दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको समयसहित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोगले राजनीतिक दलहरुलाई स्वीकृति प्रदान गरिएको सूची साउन १६ गते देखि २३ गतेसम्म राजपत्रमा प्रकाशित गर्ने जनाइएको छ ।सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम फैसला गर्ने तयारी गरिरहेकै बेला निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुलाई धेरैले चासोका साथ हेरेका छन् । आयोगले भदौ २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरेको छ । पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने मिति असोज २० गते देखि २१ गतेसम्म तय गरिएको छ । असोज २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।

पहिलो चरणको निर्वाचनको कार्तिक २६ गते मतदान हुने आयोगको कार्यतालिका छ । त्यस्तै, दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने मिति असोज ३१ गते देखि कार्तिक १ गतेसम्मका लागि तोकिएको छ । कार्तिक १ गते उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिने आयोगले जनाएको छ । ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन नै उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ भने मंसिर ३ गते मतदान हुने आयोगले कार्यतालिकामा उल्लेख गरेको छ ।केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेको थियो ।

आयोगको निर्वाचन कार्यतालिका नियमित प्रक्रिया
सरकारले निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा आयोगले गर्ने कामहरुको कार्यतालिका मात्रै स्वीकृत गरिएको, तर निर्वाचन कार्यक्रम भने राजपत्रमा प्रकाशित भएपछि मात्रै कार्यान्वयनमा आउने निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले बताउनुभएको छ । आयोगको नियमित कामलाई अन्य निकाय (अदालत) को निर्णयसँग जोडेर हेर्न नमिल्ने दाबी थपलियाले गर्नुभएको छ ।


क्याटेगोरी : देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्