Techie IT
Mission Khabar

आजबाट तीनदिनसम्म भेरोसेलको दोश्रो डोज खोप लगाइदै, यसअघि छुटेकाले समेत पाउने


काठमाडौं । कोराना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई आजबाट दोस्रो डोज खा्प लगाइदैछ । पहिलो मात्रा लगाएका तीन लाख ७० हजार भन्दा बढी नागरिकलाई दोस्रो मात्रा खोप लगाइने तय भएको स्वास्थ्य सेवा विभागले जानकारी दिएको हो ।

खोप लगाउनका लागि यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने बताइएको छ । खोप अभियान आजदेखी तीनदिनसम्म चल्ने र यसअघि खोप वितरण भएका केन्द्रहरुबाट देशभर सञ्चालन हुने बताइएको छ । सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो । खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले यसअघि भेरोसेल खोपको पहिलो डोज लगाएका सबैले आजदेखि सुरु हुने खोप अभियानमा दोस्रो डोज लिन पाउने बताउनुभयो । एक महिनाअघि पहिलो डोज लगाएकाहरु र त्यस पहिले पनि पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेकाहरुले खोप लगाउन पाउने छन् । पछिल्लो पटक भेरोसेलको पहिलो खोप लगाएकाहरुको सङ्ख्या झण्डै ५ लाख रहेको र यसअघि छुटेकासमेतलाई पुग्ने गरी दोस्रो डोजको व्यवस्था मिलाइएको बताइएको छ ।

दोस्रो डोजको लागि काठमाडौं उपत्यकामा झण्डै एक सय ठाउँमा खोप केन्द्र तोकिएको छ । काठमाडौं महानगरभित्र १३ वटा र काठमाडौंका अरु पालिकामा दुई-दुई ठाउँकाबाट आजदेखि भेरोसेल खोपको दोस्रो डोज खोप लगाइदैछ । यस्तै, भक्तपुरका ३८ वटा खोप केन्द्रबाट खोप लगाइदैछ । ललितपुरमा पालिकालाई खोप वितरणको मिति र केन्द्र तोक्ने जिम्मा दिइएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइनेछ । काठमाडौं स्वास्थ्य कार्यालयले जिल्लाका खोप केन्द्रको सूची समेत सार्वजनिक गरेको छ । स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका ३२ स्थानमा खोप केन्द्र तोकेको छ ।

काठमाडौंका खोप केन्द्रको सूची :


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्