Techie IT
Mission Khabar

प्रधानमन्त्री देउवाले विश्वासको मत लिदै, क-कस्ले देलान साथ ?

एमाले फुटाउन हतार गरेको अध्यक्ष ओलीको दाबी


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बस्ने संसदको दोस्रो बैठकमा विश्वासको मत लिने भएका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकले दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरेको हो ।

यसअघि नै कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराइसकेका छन् ।समितिको बैठकमा एमालेले यति छिटो किन विश्वासको मत लिन लागेको भनेर प्रश्न उठाएको थियो । सर्वोच्च अदालतले पुनर्स्थापना गर्न आदेश दिएको प्रतिनिधिसभाको पहिलो बैठक आज अपराह्न चार बजे बस्न लागेको छ ।

आजको पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, सरकारले अध्यादेशहरु टेबल गर्ने र शोक प्रस्ताव प्रस्तुत हुने छ । दोस्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सभामुखको सचिवालयले जनाएको छ ।

देउवाले पाउलान त विश्वासको मत ? 

सर्वोच्चकै अदालतको परमादेशले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ। एमाले र जनता समाजवादी पार्टी (जसपा)मा विवाद चलिरहेकाले विश्वासको मत लिने हतार नगर्ने कांग्रेस नेताहरुले बताईरहदा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले स्थायी कमिटी बैठक राखेर विश्वासको मत नदिन सांसदहरुलाई निर्देशन दिएपछि शनिबार एकाएक नयाँ निर्णय भएको छ ।

सत्तारुढ कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय जनमोर्चाका एक सांसद देउवाको पक्षमा छन् । यो सबै मत आउँदा पनि २ सय ७१ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि आवश्यक १ सय ३६ जुटाउन देउवालाई ८ मत पुग्दैन । अझ, जसपाको उपेेेेेेेन्द्र पक्षमा १२ सांसद मात्र खुलेका छन् । माओवादी केन्द्र र जसपाको उपेन्द्र पक्षले देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् । यसले देउवालाई बहुमतका लागि १३ मत चाहिन्छ । यो मतको खाँचो टार्न माधवकुमार नेपाल समूहले मत दिने सम्भावना छ । संविधानको धारा ७६ (५) अनुसार देउवाले प्रधानमन्त्री दाबी गर्दा पनि नेपाल समूहका २६ सांसदले साथ दिएका थिए । प्रतिनिधिसभा विघटन भएपछि संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च गएका १ सय ४६ सांसदमा एमालेका २३ जना थिए ।

संसद पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको सर्वोच्चले धारा ७६(५) को प्रधानमन्त्रीका लागि समर्थन गर्दा वा विश्वासको मत दिँदा ह्वीप नलाग्ने र दल त्याग ऐनअनुसार कारबाही गर्न नमिल्ने फैसला गरेको छ । तर, सर्वोच्च अदालतको फैसला आउनु अघिल्लो दिन २७ असारमा एमालेको दुबै पक्षका नेताहरु रहेको कार्यदलले जुटाएको १०बुँदे सहमतिमा सरकारबारे पार्टी एकताको भावनाअनुसार संस्थागत रुपमा निर्णय गर्ने उल्लेख छ ।

एमाले अध्यक्ष ओलीको रणनीत

एमालेको नेपाल-खनाल पक्ष संसद बचाउनका लागि देउवालाई विश्वासको मत दिने पक्षमा देखिँदा अध्यक्ष ओलीले एमाले फुटाउने योजनासहित संसद बैठकको पहिलो दिन नै देउवाले विश्वासको मत लिन लागेको निष्कर्ष निकालेका छन् । ओली पक्षको एमाले बैठकले देउवालाई मत नदिने निर्णयसहित मत दिनेलाई पार्टीबाट निष्कासनको चेतावनी दिएको छ । विश्वासको मत पछि एमाले फुट्ने आँकलन भैरहेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्