Techie IT
Mission Khabar

नेकपाका संस्थापक महासचिव पुष्पलालको आज ४३ औँ स्मृति दिवस, कम्युनिष्टहरुलाई कस्ले सिकाउने पाठ ?


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको आज ४३ औँ स्मृति दिवस, विविध कार्यक्रम गरी मनाइँदैछ । विक्रम सम्वत २००६ वैशाखमा निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी, नरबहादुर कर्माचार्य र मोती देवी शाक्यसँग मिलेर पुष्पलालले पहिलो पटक भारतको कोलकाताको निर्वासनबाटै नेकपा स्थापना गरेका थिए ।

नेकपा खोल्नु भन्दा अगाडि विक्रम सम्वत १९ सय ९८ मा उनले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गरेका थिए । विक्रम सम्वत १९ सय ८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र आमा तुलसी कुमारीका माहिला छोराका रुपमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि गरेका थिए । उनी शहीद गगालालका भाइ समेत हुन् । उनले स्थापना गरेको नेकपा अहिले विभिन्न चिरामा बिभाजित छ । संसदमा भएको राम्रो उपस्थिति पनि जोगाउन नसकेपछि बामपन्थीहरु अहिले छिन्नभिन्न अवस्थामा छन् । नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलाल प्रति श्रद्धा राख्ने गरेका छन् ।

व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावै अभावमा बाँच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि उनले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन नदिएको पुराना बामपन्थी नेताहरु बताउँछन् । अहिलेका नेताहरुले पुष्पलालको राजनीतिक उद्देश्यलाई बेवास्ता गरेर पद, शक्ति र अवशरमा लिप्त हुन थालेको आरोप खेप्नु परिरहेको छ । नेपाली कांग्रेस लगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनान्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ प्रतिवद्ध थिए । अध्ययनशील नेताका रुपमा परिचित पुष्पलालसंँग नेपालको वर्तमान स्थितिका बारेका कार्यदिशा दिने क्षमता रहेको थियो ।

पुष्पलालले नेपालको गहिरो इतिहास अध्ययन गर्नुका साथै केही पुस्तक पनि प्रकाशन गरेका छन् । पुष्पलालको विक्रम सम्वत २०३५ साल साउन ७ गते आजकै दिनभारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको थियो । निधनपछि पनि नेपाली कम्युनिष्टहरुका लागि उनको मार्गदर्शन प्रेरणा बन्दैआएको छ ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्