Techie IT
Mission Khabar

प्रधानमन्त्री देउवाको रोजाईमा कसरी परे व्यवसायी उमेश श्रेष्ठ ?


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको किचन क्यबिनेटको रोजाईमा व्यवसायी उमेश श्रेष्ठ परेका छन् । मन्त्रीपरिषद बिस्तार हुन ढिलाई भइरहेकै बेला प्रधानमन्त्री देउवाले आइतबार स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराए । संविधानतः राज्यमन्त्रीलाई प्रधानमन्त्रीले सपथ खुवाउने व्यवस्था रहेकोले सपथ समारोह शीतल निवासमा नभएर सिंहदरबारमा नै राखिएको थियो । सपथ समारोहमा देउवा मन्त्रिमण्डलका सदस्यहरू उपस्थित थिए । नेपाली कांग्रेसका सांसद श्रेष्ठ निजी विद्यालयका संचालक हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् । हात्तीवनस्थित लिटिल एन्जल्स स्कूलका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठ प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन (हिसान) का संस्थापक अध्यक्षसमेत हुन् । भोजपुर घर भएका श्रेष्ठको थुप्रै व्यवसायिक क्षेत्रमा लगानी रहेको छ ।

श्रेष्ठको राजनीतिक जीवन
राजनीतिमा भन्दा बढी व्यवसायिक क्षेत्रमा व्यस्त हुने उमेश श्रेष्ठ कांग्रेस पाटी भन्दा पनि सभापति देउवा नजिक मानिन्छन् । दोस्रो संविधानसभामा उनी २६ जना मनोनीत सभासदमा समेटिए । श्रेष्ठ हाल संघीय संसदमा नेपाली कांग्रेसबाट समानुपातिकतर्फका सांसद छन् । उनी कांग्रेस निकट नभई सभापति देउवाको चुनाव खर्च जोहो गरिदिने टोलीको एक सदस्य रहेको कतिपय कांग्रेस नेताहरु नै बताउँछन् । विभिन्न अस्पतालहरुमा समेत जोडिएका श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाइएपनि उनको स्वार्थ मन्त्रालयसँग जोडिने समेत कतिपयले आँकलन गर्न थालेका छन् ।

शैक्षिक क्षेत्रका व्यवसायी श्रेष्ठ पछिल्लो समय जलविद्युत र अस्पतालमा समेत लगानी गरेका छन् । यो वर्षमात्र उमेशले विभिन्न अस्पतालहरूको चेन बनाउने भन्दै ५० करोड लगानी गर्ने सार्वजनिक घोषणा गरेका थिए । श्रेष्ठले होटल, कृषि र निजी वनमा समेत लगानी गरेका छन् । जनमैत्री, महेन्द्रनारायण निधी अस्पताललगायतमा उनको लगानी छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्