Techie IT
Mission Khabar

इजरायलमा १ हजार नेपालीलाई रोजगारीको अवशर, यस्तो छ चाहिने योग्यता र तलब


काठमाडौं । इजरायलमा श्रमिकको माग भएअनुसार नेपालबाट लगिने एक हजार जना श्रमिकका लागि आवेदन आह्वान भएको छ । वैदेशिक रोजगार विभागले २१ दिनको म्याद राखेर एक हजार जनाका लागि आज (मङ्गलवार) आवेदन खुला गरेको हो । माग भएका कामदार मध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष हुने जनाइएको छ ।

नेपालसँग सम्झौता भएको लामो समयसम्म पनि इजरायलले नेपाली कामदार लैजान आनाकानी गरिरहेको थियो । यसका कारण छनौँटको प्रक्रियामा ढिलाई भएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल नेपाली कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८ यसअघि नै जारी गरिसकेको छ । सरकार टु सरकार (जीटूजी) मार्फत कामदार पठाउन गएको असोज १४ गते सरकारले इजरायलसँग सम्झौता गरेको थियो ।

यस्तो चाहिन्छ योग्यता
इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरुमा सहायक कामदारका रुपमा जान चाहने २५ देखि ४५ वर्षसम्मका नेपाली नागरिकले २१ दिन भित्र वेबसाइट मार्फत आवेदन दिन सक्ने वैदेशिक रोजगार विभागको सूचनामा उल्लेख छ । कक्षा १० उत्तीर्ण गरि अनमी वा सीएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १० जोर दुई वा सो सरहको शैक्षिक योग्यता हाँसिल गरि सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ्ग सम्बन्धी कम्तीमा तीन महिनाको तालिमा लिएकाहरुले आवेदन दिन पाउने छन् । विगतमा इजरायल गएर काम नगरेको वा बुवा, आमा, पति, पत्नि, छोरा, छोरी इजरायलमा बसोबास नगरेको या कार्यरत नरहेका व्यक्तिले मात्रै आवेदन दिन पाउने छन्।

लागत र तलब सुविधा
नेपाली कामदारले महिनाको लगभग १६ सय अमेरिकी डलर (एक लाख ९० हजार) तलब पाउने छन् । सुरुमा एक वर्षको करारमा नेपाली कामदार जाने छन् र सो अवधि पाँच वर्षसम्म बढाउने सकिने छ । कामदारलाई बसोबासको व्यवस्था रोजगारदाताले नै गर्ने छन्। आवेदन दिने व्यक्ति कम्तीमा १.५ मिटर उचाइ तथा ४५ किलो तौल भएको हुनु पर्ने उल्लेख छ। छनौट हुने कामदारले रोजगारीका लागि इजरायल जानका लागि हवाई भाडासहित कुल एक लाख ६५ हजार ७ सय रुपैयाँ (अनुमानित) लागत तिर्नु पर्ने छ ।

कामदारहरुको छनौट प्रक्रिया नेपाल सरकार र इजरायलसँग भएको सम्झौता अनुसार हुने कामदारको अन्तिम छनौट इजरायलको पपुलेशन इमिग्रेशन एण्ड बोर्डर अथोरिटी (पिआइबिए) ले गर्ने सूचनामा उल्लेख छ । छनौट भएर इजरायल जाने नेपाली कामदारले हप्ताको ६ दिन कुल ४२ घण्टा काम गर्नु पर्नेछ । अतिरिक्त समयको कामको इजरायली कानून अनुसार भुक्तानी पाइने जनाइएको छ ।

यस्तो छ कामदार मागको सूचना :


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्