Techie IT
Mission Khabar

ओली सरकारका निर्णय उल्टाउँदै देउवा सरकार, फेरिए गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेल पदमुक्त गरेर पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुत्त गर्दै अमिक शेरचनलाई नियुक्त गर्नुभएको छ । सरकारको सिफारिसका आधारमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यस्तै सरकारको शिफरिसमा नेपालको संविधानको धारा १ सय ६३ को उपधारा (२) बमोजिम गुरुङ र शेरचनलाई नियुक्त गरिएको बताइएको छ ।

को हुन त गण्डकी र लुम्बिनीमा बनाइएका प्रदेश प्रमुखहरु ?

पृथ्वीमान गुरुङ
गण्डकी प्रदेशका प्रमुख बनाइएका पृथ्वीमान गुरुङ कांग्रेसका पुराना नेता हुन् । देउवाले नेतृत्व गरेको नेपाली कांग्रेस प्रजातान्त्रिक हुँदा उनी जिल्ला सभापति भएका थिए । पछि सभापति देउवाले गठन गरेको संगठन विभागको उपप्रमुखमा उनै चितवनका पृथ्वीमान गुरुङ मनोनीत गरिएका थिए । पुराना राजनीतिज्ञ भएपनि गुरुङ कांग्रेसमा अवशर र मौका नपाउने नेताका रुपमा परिचित थिए ।

अमिक शेरचन
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, राजनीतिसँगै इमान्दार, सदाचार र सादगी जीवन जिउने थोरै व्यक्तित्व मध्येमा पर्छन् । जीवनको लामो समय भूमिगत र अर्धभूमिगत रुपमा विताएका शेरचन यसअघि नै गण्डकी प्रदेशको प्रमुखमा नियुक्त भएका थिए । युवावस्थादेखि नै वामपन्थी राजनीतिमा झुकाव राख्दै आएका शेरचन विसं २०३५ मा निर्मल लामाले नेतृत्व गरेका नेकपा (चौथो महाधिवेशन) को केन्द्रीय सदस्य एवं चितवन जिल्ला सचिव भए । विसं २०४७ मा तीन पार्टी र त्यसको एक वर्षपछि अरु दुई पार्टी थपिएर बनेको नेकपा (एकता केन्द्र) मा शेरचन केन्द्रीय सदस्य बने । शेरचन वि.सं २०४७ मा संयुक्त जनमोर्चाको चितवन जिल्ला अध्यक्ष बने जतिबेला केन्द्रीय अध्यक्षमा डा.बाबुराम भट्टराई थिए । नेता वि.सं २०५१ मा संयुक्त जनमोर्चाबाट डा.भट्टराई र निरञ्जन वैद्य अलग्गिएर छुट्टाछुट्टै पार्टी खोलेपछि वि.सं २०५४ को जनकपुर सम्मेलनबाट शेरचन संयुक्त जनमोर्चाको केन्द्रीय अध्यक्ष बने ।

एकता केन्द्र र संयुक्त जनमोर्चाका तर्फबाट विसं २०४८ को निर्वाचनमा उम्मेदवार बनेका शेरचन चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भए । वि.सं २०५९ मा संयुक्त जनमोर्चा र राष्ट्रिय जनमोर्चा मिलेर बनेको जनमोर्चा नेपालको अध्यक्ष पनि शेरचन नै भए । विसं २०६३ मा सो पार्टी विघटन भएको घोषणा गरी तत्कालीन नेकपा (माओवादी) मा समाहित हुँदा शेरचन स्थायी समिति सदस्य बनेका थिए । शेरचन वि.सं २०६३ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत बनेका थिए । वि.सं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए । एउटै प्रदेशमा दोहोर्याएर प्रदेश प्रमुख बन्न नपाउने भएसँगै माओवादी केन्द्रको शिफारिसमा शेरचन पुनः लुम्बिनी प्रदेश प्रमुख बनेका छन् ।

यी दुई प्रदेश प्रमुख परिवर्तनको निर्णयले देउवा सरकार विगतमा ओली सरकारले प्रतिनिधिसभा विघटनपछि गरेका निर्णय एकपछि अर्को गर्दै उल्टाउने दिशामा अघि बढेको संकेत गरेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्