Techie IT
Mission Khabar

भीडभाडसँगै बढ्यो कोरोनाको जोखिम, स्वास्थ्य पूर्वाधार र जनशक्ति बढेन !


काठमाडौ । कोरोना संक्रमणको तेस्रो लहर आउने प्रक्षेपण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी उच्च हुँदा उपचारका लागि आवश्यक सामाग्रीको जोहो गर्न भने खासै ध्यान दिएको छैन् । अहिले पनि अस्पतालहरुमा दोस्रो चरणको महामारीका बेला जे जति संरचनाहरु विस्तार भएका थिए त्यतिमै सिमित देखिएका छन् ।

कोरोना महामारीको दोस्रो लहर नियन्त्रणमा नआउँदै दैनिक थपिने संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार ३० गते देशभरबाट संकलन गरेको ४७ वटा नमुना जिन सिक्वेन्सिङका लागि भारत पठाउँदा सबै नमुनामा डेल्टा भेरियन्टसहित ३ वटामा डेल्टा प्लस म्युटेन्ट पहिचान भएको छ । योसँगै नेपालमा अल्फा, डेल्टा र कप्पा भेरियल्ट भेटिएको छ, जुन बढी संक्रामक मानिन्छ । सरकारले सर्वसाधारणलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्न र अस्पतालहरुलाई सम्भावित तेस्रो लहरको चुनौतीको सामना गर्ने गरी पूर्वाधार र जनशक्तिको व्यवस्थापन गर्न मातहतका निकाय मार्फत निर्देशन दिएको छ ।

शहर बजारमा बढ्दो भीडलाई हेर्ने हो भने सर्वसाधारणले दोस्रो लहरको कोरोना सक्रमणले पारेको भयावह स्थितिलाई चटक्कै भुलिसके जस्तो देखिन्छ । भिडभाजन्य क्रियाकलापहरु सामान्य अवस्थाका जस्तै बनिरहेको छ । मानिसहरु बाहिर हिड्डुल गर्दा सामान्य माक्स प्रयोगमा समेत हेलचेक्राइ गरिरहेका छन् । तेस्रो लहर आउने निश्चित हुदा समेत यसले पार्ने प्रभावप्रति न सरकार चिन्तित देखिन्छ न त सर्वसधारण नै आफै सचेत हुन सकेका छन् । सर्वसाधारणको ध्यान नै खोपतिर छ तर, सर्तकता र सजगता निक्कै कम ।

 के भन्छन विज्ञहरु ?

पहिलो लहरमा लकडाउन खुलेपछि मानिसले जे–जे गल्ती गरे अहिले पनि त्यही गल्ती दोहोर्याउँदा संक्रमण बढिरहेको जनस्वास्थ्यविद् डा. रविन्द्रनाथ पाण्डे बताउछन् । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन जोखिम कायमै रहेको अवस्थामा निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यको मापदण्ड पालनामा समेत हेलचेक्राई बढ्नु गम्भिर भएको बताउँछन् । उनी संक्रमण बढ्नुमा राजनीतिक दल लगायत विद्यार्थी संघ–संगठन पनि उत्तिकै दोषी रहेको बताउँछन् । डेल्टा र डेल्टा प्लस भेरियन्टले यसअघि संक्रमण नभएका व्यक्तिहरुमा जोखिम हुन सक्ने डा. पुन बताउँछन् ।

सातै प्रदेशका आपूर्ति व्यवस्थापन केन्द्रलाई कम्तिमा एक हजार अक्सिजन सिलिन्डर भरेर राख्न मन्त्रालयले निर्देशन दिएको छ । संम्भावित तेस्रो लहरको लागि तीनै तहका जिम्मेवार निकायहरुलाई पूर्वाधारको तयारी, जनशक्ति व्यवस्थापन तथा एक्बुलेन्सको व्यवस्था र शेैयाहरुको जोहो गर्न र्दिेशन दिइएको छ । नेपालमा कोरोना भाइरसको पहिलो संक्रमितको उपचारदेखि दुईटै महामारीमा संक्रमितको उपचार गर्दै आएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोला अस्पतालमा पछिल्लो समय कोरोनाका गम्भीर बिरामी बढ्न थालेको बताउँछन् । यसले पनि जोखिम थप बढ्दै गरेको देखाएको छ ।

जबकी दोस्रो लहरको उच्च विन्दु मानिएको २८ वैशाखमा २१ हजार ३१६ नमुना परीक्षण गर्दा ९,४८३ जनामा संक्रमण पुष्टि भएको थियो भने २० असारमा दोस्रो लहरमै सबभन्दा कम १,६०३ जनामा संक्रमित पहिचान भएका थिए । त्यसयताका २३ दिनको तथ्यांक हेर्दा ४ साउनसम्म संक्रमित संख्या दुई हजारदेखि ३ हजारको हाराहारिमा थपिएको छ । ५ साउनमा ३,१२३ जनामा संक्रमण देखिएपनि यसको तीन दिनसम्म केही कम भएको थियो साउन ९ मा ३,११४, साउन १० गते २,२३७ संक्रमित थपिएकोमा ११ गते ३,४२१, १२ गते ३,८९९, १३ गते ३ हजार ८ सय संक्रमित थपिएका छन्, दैनिक मृत्युदरपनि २० बाट ३० माथी पुगेको छ ।

पहिलो लहरमा लकडाउन खोलेको झण्डै तीन साताको अवधिमै संक्रमण बढेको थियो दोस्रो लहरमा पनि संक्रमण वृद्धिको ट्रेन उस्तै देखिएको थियो । ७ साउनयता क्रमशः निषेधाज्ञा खुकुलो बनाइएपछि बढ्दै गरेको संक्रमणदरले जोखिम बढाएको छ । पहिलेभन्दा संक्रामक रहेको डेल्टा भेरियन्ट समुदायमै रहिरहेको अवस्थामा कसरी महामारी रोक्न र बच्ने भन्नेमा सरकारसँगै हरेक नागरिक जिम्मेवार बन्ने समय आएको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्