Techie IT
Mission Khabar

अलमलमा मन्त्रिपरिषद् विस्तार, यी हुन तीन दलबाट मन्त्रीका आकांक्षीहरु


काठमाडौं । सत्तारुढ गठबन्धनले एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेको छ । विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने गरि केहीसमय नेपाल समूहलाई कुर्ने सहमती भएको हो । माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन् । काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउने आन्तरिक सहमति भएको छ ।

मन्त्रिमण्डल विस्तार भने अझै अन्यौल
असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाको मन्त्री परिषद् उनी बाहेक अन्य ४ मन्त्री र एक राज्यमन्त्री मात्र छन् । गठबन्धनमा रहेका सबै दललाई साथ लिएर हिँड्न खोज्दा प्रधानमन्त्री नियुक्त भएको १९ दिनमा पनि प्रधानमन्त्री देउवाले सरकारलाई पूर्णता दिन सकेका छैनन् । जसपाको आधिकारिताका विषयमा निर्वाचन आयोगले फैसला सुनाएपछि बसेको गठबन्धनको पहिलो बैठकले तत्काल सरकारलाई पूर्णता दिने निर्णय गरेपनि कहिले भन्ने एकिन भैसकेको छैन ।

यी हुन मन्त्रीका आकांक्षीहरु
मन्त्रिपरिषद तत्काल बिस्तार गर्ने निर्णयसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मन्त्री बन्न दौडधुप सुरु गरेका छन् । बुधबारदेखि नै नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा आन्तरिक छलफलमा छन् । कांग्रेसबाट संस्थापन पक्षबाट पुष्पा भुसाल, डा. नारायण खड्का, मीन विश्वकर्मा, डा. डिला संग्रौलासहितका नेताहरूले मन्त्रीका लागि दाबी गरेका छन् । यस्तै, रामचन्द्र पौडेल पक्षबाट सुजाता कोइराला, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश रसाइली स्नेहीको नाम चर्चामा छ । सिटौला पक्षबाट गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधानमध्ये एकलाई मन्त्री बनाउने सहमति जुटेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात प्रदेशबाट एक एक जना मन्त्री बनाउने नीति लिएका छन् । कर्णाली प्रदेशबाट जनार्दन शर्मा र वागमती प्रदेशबाट पम्फा भुसाल मन्त्री बनिसकेका छन् । गण्डकी प्रदेशबाट यसपटक देवेन्द्र पौडेलको नाम चर्चामा छ । स्थायी समितिमा रहेका नेताहरू मध्येबाट नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङलगायतको नाम पनि चर्चामा छ । प्रदेश २ बाट यसपटक मन्त्रीका लागि मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको नाम अगाडि छ । महिलाबाट जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठमध्येबाट मन्त्री हुने बढी सम्भावना छ । देउवा नेतृत्वको सरकारमा जसपाबाट अध्यक्ष उपेन्द्र यादव, महेन्द्र राय यादव, रेणु यादव, मोहम्मद इस्तियाक राईलगायतको नाम चर्चामा छ ।

यता, सरकार बिस्तारसँगै सत्तापक्षीय गठबन्धनले सरकारलाई सफल बनाउनको लागी गठन गरिएको कार्यदलले न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहेको छ । संबिधानको रक्षा, जनताको जनजिविकामा सुधार लगायतका बिषयलाई समेटेर न्युनतम साझा कार्यक्रम तयार पारिएको बताइएपनि गठबन्धन सरकारको सन्तुलन मिलाएर मन्त्री चयन गर्न यसपटक निक्कै सकस पर्ने देखिएको छ । प्रधानमन्त्री देउवाले नजिकिँदो महाधिवेशनलाई लक्षित गर्दै यसपटक मन्त्री चयनलाई प्राथमिकतामा दिएका छन भने देउवा सरकार गठनमा महत्वपूर्ण भुमिका खेलेका माधवकुमार नेपालले योग्य र सक्षम सहयात्री लिएर अघि बढ्न सुझाब दिएका छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्