Techie IT
Mission Khabar

जापानमा बढ्दै कोरोना संक्रमण, राजधानी टोकियोसहित आसपासका क्षेत्र र ओसाकामा प्रतिबन्ध


फुकोउका, काठमाडौं । कोरोनाको जोखिम बढेसँगै जापानको राजधानी टोकियोसहित आसपासका क्षेत्र र ओसाका सहरमा प्रतिबन्ध लगाइएको छ । टोकियोमा भइरहेको ओलम्पिक खेलको समयमा कोरोनाको जोखिम बढेसँगै आपतकालीन अवस्थामा प्रतिबन्धलाई राजधानी आसपासका क्षेत्रमा पनि विस्तार गरिएको सरकारी अधिकारिहरुले जानकारी दिएका हुन् ।

प्रतिबन्धको अवस्थामा होटेल, रेस्टुरेन्ट तथा रक्सी पसल बन्द गरिएका छन् । अहिलेलाई प्रतिबन्ध ३१ अगस्टसम्म लगाइएको छ । संक्रमण बढ्दै गए समयसिमा थप लम्ब्याइने जनाइएको छ । शुक्रबार मात्रै ओलम्पिकमा सहभागी थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको ओलम्पिक सञ्चालक कमिटीले जानकारी दिएको थियो । अभूतपूर्व रुपमा कोरोनाको संक्रमण फैलिरहेको भन्दै जापानका प्रधानमन्त्री योसिदी सुगाले ओलम्पिक खेल घरबाटै टिभीमा हेर्न आग्रह गरेका छन् । जापानमा डेल्टा भेरियन्ट संक्रमणका नयाँ केसहरु देखिएका छन् ।

यसअघि जापानका स्वास्थ्यमन्त्री नोरिहिसा तमुराले जापानले कोरोनाको डरलाग्दो रुपको सामना गर्नुपर्ने भन्दै सबैलाई सचेत गराएका थिए । जापान अहिलेसम्म कोरोना नियन्त्रणमा सफल राष्ट्रका रुपमा दरिदै आएपनि पछिल्लो समय बढ्दै गएको संक्रमण दरले अवस्था भयावहतर्फ जानसक्ने आँकलन स्वास्थ्य अधिकारिहरुले गर्न थालेका छन् ।


क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्