Techie IT
Mission Khabar

यसरी सम्भव भएको थियो मनाङ र मुस्ताङका १८ वर्षमाथिका सबै नागरिकलाई खोप


काठमाडौं । हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङका १८ वर्षमाथिका सबै नागरिकले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएको बारे चौतर्फी चासो बढ्न थालेको छ । भौगोलिक विकटता, मौसमको प्रतिकुल अवस्था, बाढी, पहिरो जस्तो प्राकृतिक विपत्तिसँग जुधेर त्यहाँका स्वास्थ्यकर्मीले लकि्षत समूहका सबैलाई खोप लगाएपछि यो सफलताले चौतर्फी चर्चा पाएको हो ।

बाढी र पहिरोका कारण मनाङ सदरमुकाम चामे झण्डै डेढ महिनादेखि सडक सञ्जाल र विद्युत सम्पर्कबाट विच्छेद थियो । त्यहाँ खोप पुर्याउनु मात्र होइन, सुरकि्षत रुपमा भण्डारण गर्नुपनि चुनौतीपूर्ण थियो । तर स्वास्थ्यकर्मीले खोप लगाउन योग्य सबैलाई समेटेर खोप अभियान सफल बनाएका छन् ।
कतिले लगाए मनाङमा खोप ?
२,२४६ वर्ग किमी क्षेत्रफलमा फैलिएको मनाङको कुल जनसंख्या २०६८ को जनगणना अनुसार ६ हजार ५३८ रहेको छ । स्वास्थ्य कार्यालयका अनुसार उनीहरुमध्ये खोप लगाउने योग्य १८ वर्षभन्दा माथिका नागरिक ४ हजार ५०० छन् । केही कामको शिलशिलामा देशविदेशमा रहेका कारण खोप लगाउने नागरिक ४ हजार १९८ पुगेका छन् । २ हजार ९६ जनाले कोभिशिल्डको दुबै डोज लगाएका छन् भने २ हजार २७ जनाले जोनसन एण्ड जोनसनको खोप र ७५ जनाले भेरोसेलको दुबै डोज खोप लगाएका छन् । कोभिशिल्डको दोस्रो खोप लगाउन बाँकी १६५ जना रहेका छन् ।

कतिले लगाए मुस्ताङमा खोप ?
२०६८ सालको जनगणना अनुसार मुस्ताङको कुल जनसंख्या १३ हजार ४५२ छ । यहाँ १८ वर्षभन्दा माथिका ९ हजार ३०० जनाले दुबै डोज खोप लगाएका छन् । मुस्ताङका कार्यरत बाहिरी जिल्लाका २१३ जनाले पनि दुबै डोज खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका अनुसार ६ हजार ७२१ जनाले जोनसन एण्ड जोनसनको खोप लगाएका छन् भने २ हजार ४७२ जनाले कोभिशिल्ड र ३२० जनाले भेरोसेलको दुबै डोज लगाएका छन् ।
मुस्ताङमा कोरोना संक्रमणको दोस्रो लहरमा ५२५ जना संक्रमित भएका थिए, जसमध्ये १५ जनाको मृत्यु भएको छ भने अहिले २३ जना सकि्रय संक्रमित छन् ।

कसरी सबैलाई खोप लगाउन सम्भव भयो ?
मनाङ थोरै जनसंख्या भएको जिल्ला, त्यसमाथि भौगोलिक विकटता भएका कारण घरिघरि एउटै ठाउँमा खोप बोकेर नागरिकलाई लगाउन जान सहज थिएन । ‘बल्ल–बल्ल बोकेर खोप पुर्यायौँ, लकि्षत समूह १०/१२ जना मात्रै हुन्थे, स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्य विगतलाई स्मरण गर्छन । यही समस्या तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री, स्वास्थ्य सचिवहरुको जुम मिटिङमा राखेर मनाङ र मुस्ताङका सबै नागरिकलाई खोप लगाउने प्रस्ताव गरेको उनी बताउँछन् । कतै कसैले नपाउने, कतै सबै नागरिक पाउँदा विरोध हुन्छ भनेर मन्त्रालयका अधिकारीहरुले उनको प्रस्तावमा सहमति भने जनाएनन । अधिकारकै कुरा गर्ने हो भने पोखराका नागरिकले पाँच मिनेटमै सुविधासम्पन्न अस्पताल पुगेर उपचार पाउँछन् । तर मनाङ, मुस्ताङका जनताले कोभिड भयो भने अस्पताल नै देख्न नपाएर मर्नुपर्ने दिन आउँछ । त्यहाँका जनताले त्यो दिन भोग्न नपरोस् भनेर प्रस्ताव गरेको हो ।’ आचार्यले बताए ।

मनाङ र मुस्ताङको जनसंख्या थोरै छ । पोखराको एउटा वडामा खोप लगाउँदा वेस्टेज हुने खोपले यहाँको सबै जनसंख्यालाई पुग्नसक्छ । यहाँ एम्बुलेन्स गुड्ने बाटा छैनन् । कोभिडका बिरामीलाई अरु मानिसले बोकेर ल्याउन पनि सहज छैन । सबै जना हेलिकप्टर इफोर्ट गर्न सक्ने सक्षम पनि छैनन् । हेलिकप्टर इफोर्ट गर्न सक्नेले चाहँदा पनि मौसमका कारण सफल हुने अवस्था छैन’, त्यसैले मनाङ र मुस्ताङका जनताका लागि सर्वोत्तम विकल्प भनेको भ्याकि्सन नै हो ।’ यहि कुरा आफूले बारम्बार उठाएको उनले स्मरण गराए । संघीय सरकारको स्वास्थ्य मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप दिनु भनेर नीतिगत रुपमा सहमति त दिएन, तर जिल्ला खोप समितिबाट निर्णय गराएर उपलब्ध खोप लकि्षत समूहलाई मात्रै नभएर योग्य नागरिकलाई दिँदा अवरोध नगर्दा अभियान सफल भएको आचार्यले बताए । नेपाली सेनाको हेलिकप्टरमार्फत खोप केन्द्रबाट भ्याकि्सन संकलन गर्नुपरेको, राम्रोसँग घाम नलाग्दा कार्यालयमा पनि सौर्य उर्जाले काम नगरेको, पोखराबाट मगाइएको आइसप्याकले लामो समय धान्न नसक्दा पोखराबाट इन्धन ल्याएर जेनेरेटर चलाएर खोप भण्डारण गरेर नागरिकलाई लगाएको स्वास्थ्य कार्यालय प्रमुख आचार्य बताउँछन् ।

मुस्ताङमा पनि पोखराबाट खोप पुर्याउनै कठिन थियो । कतै गाडीबाट कतै मान्छेले बोकेर खोप जिल्लासम्म ल्याएको स्वास्थ्य कार्यालय, मुस्ताङका प्रमुख टीकाराम भण्डारी बताउँछन् । जिल्लामा १६ वटा स्वास्थ्य चौकी भएपनि २५ वटा वडामा खोप पुर्याएर खोप कार्यक्रम सफल बनाइएको उनी बताउँछन् । सबै वडामा खोप पुर्याउँदा भोग्नु परेको दुःख शब्दमा बयान गर्न नसकिने दाबी गर्ने भण्डारी स्वास्थ्यकर्मीका दृढ इच्छाशकि्त, स्थानीय जनप्रतिनिधिको सहयोगमा खोप कार्यक्रम सफल पारिएको बताउँछन् ।


क्याटेगोरी : ओझेलका पात्र, जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्