Techie IT
Mission Khabar

एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल गरेको जानकारी दिदै बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले आगामी हप्ताभित्र नतिजा सार्वजनिक हुने जानकारी दिनुभएको हो ।

गत जेठ १३ गतेदेखि तय भएको एसईईको परीक्षा कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलन थालेपछि अकस्मात स्थगित भएको थियो । भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ ल्याउँदै आन्तरिक मूल्यांकन गर्न निर्देशन दिएको थियो । विद्यालयले आन्तरिक मूल्यांकनको नतिजा पठाउन ढिलाई हुँदा समेत परीक्षाफल प्रकाशनमा ढिलाई भएको बताइएको छ ।

कार्यविधिले विद्यार्थीको निर्माणात्मक २० प्रतिशत (विद्यार्थीको हाजिरी, प्रस्तुति लगायतको विषय), निर्णयात्मक ५५ प्रतिशत (विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकन) र प्रयोगात्मकको लागि २५ प्रतिशत मूल्यांकन तोकेको छ । प्रयोगात्मक नभएका विषयहरुमा निर्माणात्मक २५ प्रतिशत र निर्णयात्मक ७५ प्रतिशत मूल्यांकन आधार तोकिएको छ । यो मूल्यांकन विधिका आधारमा यो वर्षको एसईईको नतिजा आउनेछ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्