Techie IT
Mission Khabar

देशभर करिब ९८ प्रतिशत रोपाईँ सम्पन्न, यस्तो छ जिल्लागत विवरण


काठमाडौं । मनसुनी वर्षा जारी रहँदा देशभर ९७.८९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । सरकारी तथ्याँकअनुसार कर्णाली प्रदेशमा धान रोपाइँ सकिएको छ भने सुदूरपश्चिममा ९९.०६ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८.९५ प्रतिशत, वाग्मती प्रदेशमा ९८.०८ प्रतिशत, गण्डकीमा ९८.६४ प्रतिशत, प्रदेश २ मा ९६.८० प्रतिशत र प्रदेश १ मा ९६.८३ प्रतिशत रोपाईं भएको छ ।

प्रदेश १ को सोलुखुम्बु, ओखलढुंगा, खोटाङमा रोपाई सम्पन्न भइसकेको छ भने ताप्लेजुङमा ९९.५० प्रतिशत रोपाईँ हुँदा सबैभन्दा कम धनकुटा जिल्लामा ८८.०० प्रतिशत मात्र रोपाइँ भएको छ । यस्तै, प्रदेश २ का आठ जिल्लामध्ये कृषि विभागको तथ्याङ्कले सिरहा जिल्लामा ९९.०० प्रतिशत, रौतहटमा ९२ प्रतिशत, धनुषामा ९५, महोत्तरी, सर्लाही र सप्तरीमा ९८ प्रतिशत र बारामा ९५ प्रतिशत रोपाईं भएको छ । वाग्मती प्रदेशको दोलखा, रसुवा, काठमाडौ, भक्तपुर, ललितपुर, मकवानपुरमा ९९ प्रतिशत रोपाईं भइसकेको छ भने सिन्धुपाल्चोकमा ९६ प्रतिशत र बाँकी जिल्लामा ९८ प्रतिशत रोपाईं भएको छ । गण्डकी प्रदेशका पर्वत, म्याग्दी, बाग्लुङ र लमजुङमा रोपाईं सम्पन्न भइसकेको छ भने कास्कीमा ९६, स्याङ्जामा ९८, तनहुँमा ९६.७ रोपाई भएको छ । कृषि विभागको तथ्याङ्कअनुसार मनाङ र मुस्ताङमा धान खेती नै हुँदैन । लुम्बिनी प्रदेशको अर्घाखाँची, बाँके, रोल्पा र रुपन्देहीमा रोपाई सम्पन्न भएको छ भने कपिलवस्तुमा ९९, बर्दिया, दाङ, रुकुम पूर्वमा ९८ र गुल्मीमा ९६ प्रतिशत रोपाईं भएको छ । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा रोपाईं सम्पन्न हुँदा बझाङमा ९९ प्रतिशत दार्चुला र डडेल्धुरामा ९८, डोटी र अछाममा ९७ र बाजुरामा ९५ प्रतिशत रोपाई भएको कृषि विभागले जानकारी दिएको छ ।

देशभर १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान रोपाइँ हुुँदैआएकोमा हालसम्म १३ लाख ४२ हजार ८१९.९४२ हेक्टरमा रोपाईं भइसकेको छ । मनसुन सक्रिय भएसँगै तराईका जिल्लाहरुमा रोपाईँले तिब्रता पाएपनि कतिपय हिमाली र पहाडी जिल्लाहरुमा पानी ढिला पर्दा सिँचाई समस्याले ढिला रोपाईँ सुरु भएको थियो ।


क्याटेगोरी : कृषी / उद्यम, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्