Techie IT
Mission Khabar

भूकम्पपछि अस्थिर बनेको चीनतर्फको तातोपानी नाका कहिलेबाट आउँला निरन्तर सञ्चालनमा ?


काठमाडौं । भूकम्पपछि बन्द चीनसँगको तातोपानी नाका अझै सहज रुपमा सञ्चालनमा आउन सकेको छैन । भूकम्पपछि यो नाका निरन्तर रुपमा नभई अस्थिर रुपले सञ्चालन हुँदै आएको छ । नाका अस्थिर हुँदा सयौँको रोजीरोटी गुमेको मात्रै छैन चीनको बजारमा निर्भर भएर व्यापार गर्ने व्यवसायी समेत मारमा परेका छन् ।

नाकाबाट कारोबार बन्द हुँदा सयौँ मजदुर बिचल्लीमा परेका छन् । ७ वर्षदेखि अस्थिर बनेको नाकालाई सहज बनाउनुपर्ने भन्दै व्यवसायीहरुले बारम्बार सरकारलाई ध्यानाकर्षण गराउँदा समेत सरकारी तवरबाट चीनिया पक्षसँग पहल भएको छैन । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठ यथासक्य छिटो नाकालाई पूर्णरुपमा सञ्चालनमा ल्याएर निरन्तरताका लागि चीनियाँ पक्षसँग पहल गर्न माग गर्छन । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ र नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै नाका पूर्ण रुपले सञ्चालनमा ल्याउनुपर्ने माग समेत राखेका छन् । नाका सञ्चालन नहुँदा समस्या परेको व्यवसायीको गुनासो छ । सिन्धुपाल्चोक विपद् सङ्कटग्रस्त जिल्ला हो । २०७१ सालको जुरे पहिरो, २०७२ को भूकम्प, २०७३ को भोटेकोशी बाढी, २०७७ को जम्बु, घुम्थाङ, लिदी पहिरो तथा गएको असार १ र १७ गतेको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोक विपद्ग्रस्त बनेको छ ।

कोदारी, तातोपानी, बाह्रबिसे, लामोसाँघु, खाडीचौर, मेलम्ची, हेलम्बु लगायतका क्षेत्र अस्तव्यस्त छन् । अरनिको राजमार्गको लिपिङ पुल, कोदारी पहिरो, डाक्लाङ पहिरो, लार्चा पुललगायतमा क्षति पुगेको छ । तर यस क्षेत्रको रोजगारी, व्यापारिक गतिबिधिसँग जोडिएको तातोपानी नाका निरन्तर रुपमा सञ्चालन हुन नसक्दा थप समस्यामा स्थानीय समेत परेका छन् ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश


तपाईको कमेन्ट लेख्नुहोस्