Techie IT
Mission Khabar

अफगानिस्तानमा फसेका नेपालीको तत्काल उद्धार गर्ने सरकारको निर्णय


काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्काल उद्धार गर्ने निर्णय गरेको छ । पछिल्लो विकसित घटनाका सम्बन्धमा गम्भीर चासो व्यक्त गर्दै सरकारले अफगानस्थानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक कार्य अगाडि बढाउन निर्देशन दिइएको जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्री शेरबहादुर ट्विटरमा एक सन्देश लेख्दै अफगानिस्तानमा फसेका नेपालीहरूको उद्धारका लागि पहल भइरहेको र त्यसका लागि आइतबार नै निर्देशन दिएको जानकारी गराएका थिए । अफगानिस्तानमा विद्रोही तालिबानले कब्जा जमाएपछि त्यहाँ कैयौँ नेपाली अलपत्र परेका छन् ।

सरकारले आर्थिक वर्ष ०६२ ६३ मा अफगानिस्तानमा निश्चित क्षेत्रको रोजगारीमा जान खुला गरेपछि अहिलेसम्म वैधानिक ढंगबाट ८ हजार ६ सय १४ जना नेपाली अफगानिस्तान गएको सरकारीको तथ्यांक छ । यीमध्ये ५ हजार २९१ व्यक्तिगत श्रम स्वीकृतिमा र ३ हजार ३ सय २३ म्यानपावरमार्फत संस्थागत श्रम स्वीकृतिमा गएको पाइएको छ । यीमध्ये कति नेपाल फर्किए भन्ने जानकारी सरकारसँग छैन । अर्कोतर्फ अवैधानिक ढंगबाट १० हजारभन्दा बढी नेपाली रोजगारीका लागि अफगानिस्तान गएको अनुमान छ । यसरी अफगानिस्तानमा १८ हजार हाराहारि नेपाली रहेको आँकलन गरिएको छ ।

सरकारले उद्धार गर्नुपर्ने मानिसको संख्या यकिन भएपछि उद्धारका लागि जहाज पठाउने र यसका लागि कम्तीमा ५ दिनको समय लाग्ने आँकलन गरिएको छ । सोमबारको संसद बैठकमा सांसदहरुले समेत अफगानिस्तानमा रहेका नेपालीहरुको अवस्था एकिन गर्न उनीहरुको सुरक्षासँगै स्वदेश फिर्ताको प्रबन्ध गर्न सरकारसँग माग गरेका थिए । विशेषगरि एमाले सांसदहरुले अफगानिस्तानको अवस्था र नेपालीहरुको सुरक्षासँगै स्वदेश फिर्ति बारे सरकारले जवाफ दिनुपर्ने माग गरेका थिए ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्