Techie IT
Mission Khabar

आजदेखि देशभर ‘स्मार्ट लकडाउन’ कार्यविधि लागू, अब संक्रमणको अवस्था हेरेर निषेधाज्ञा


काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सर्कुलरसँगै आजेखि मुलुकभर स्मार्ट लकडाउनको कार्यविधि लागू हुने भएको छ । अब यही कार्यविधिको आधारमा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले महामारिको अवस्था र जोखिमका आधारमा स्मार्ट लकडाउनको आदेश लागू गर्न सक्नेछन् ।

सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाका अनुसार भदौ १ गतेदेखि मुलुकका ७७ वटै जिल्लामा कार्यविधि लागू भएको छ । देशभरका जिल्लाहरुलाई अब संक्रमण दर, मृत्युदर, स्वास्थ्य पूर्वाधारको अवस्था र बिरामीको चाप हेरेर रेड, एम्बर, एल्लो र ग्रीन जोनमा विभाजित गर्ने गरिनेछ । रेडजोनमा समावेश भएका जिल्ला, महानगर, पालिकामा पूर्णरुपमा निषेध गर्ने र अन्य रङलाई गाइडलाइनको आधारमा निषेधाज्ञा खुकुलो बनाउने सीसीएमसीको तयारी अनुसार कार्यविधि ल्याइएको छ ।प्रवक्ता खतिवडाले भने ‘साविकमा अनुमानको आधारमा लकडाउन हुन्थ्यो भने अहिले तथ्य र वैज्ञानिक ढंगले स्मार्ट लकडाउन गर्न लागेका हौं’ । स्मार्ट लकडाउनको गाइडलाइनअनुसार डीसीएमसी र पालिकाहरुलाई संक्रमणको परिस्थिती हेरेर निषेधाज्ञा गर्ने जिम्मेवारी दिइएको छ । मंगलबार सीसीएमसीले सबै ७७ वटा जिल्ला प्रशासनलाई कार्यविधि लागू गर्न परिपत्र पठाएको छ । गृह मन्त्रालयलाई कार्यविधि लागू गराउन समेत सीसीएमसीले निर्देशन दिइसकेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सीसीएमसीबाट सर्कुलर भएअनुसार स्मार्ट लकडाउनको कार्यान्वयन कसरी गर्ने भन्नेबारे तयारी भएको जानकारी दिए ।

साउन महीना सुरु भएदेखि मुलुकभर कोभिड संक्रमणमा वृद्धि भएको छ । सरकारले तेस्रो लहर आउन सक्ने भन्दै सचेत समेत गराएको छ । बजार तथा पसल अनि नागरिकले हिडडुलका क्रममा जनस्वास्थ्यका मापदण्डको पालना नगर्न र सरकारको नियमनकारी संयन्त्रले निषेध आदेशलाई कडाईका साथ पालना गराउन नसक्दा कोरोना महामारिको जोखिम विगत भन्दा झन बढेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्