Techie IT
Mission Khabar

देशभर मनसुन थप सक्रिय, एक सातासम्म झरीसँगै यी क्षेत्रमा जोखिम


काठमाडौं । अझै केही दिन देशभरको मनसुन सक्रिय हुने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको हो ।

मौसमविद् समीर श्रेष्ठ आउँदो तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिए । न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको भए पनि बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव अबको एक सातासम्म देखापर्ने बताइएको छ । विभागले प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

अहिले देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । राति देशभर सामान्य बदली रही केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई ठाउँमा मेघगर्जनसहित ठूलो वर्षाको सम्भावना रहेको बताइएको छ । सोमवार देशभर सामान्य बदली रही धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, मंगलबारदेखी बिहिबारसम्म नै देशभर मनसुन सक्रिय हुने र हल्कादेखी मध्यम वर्षा हुने आँकलन गरिएको छ ।

केही क्षेत्रमा भारी बर्षाको पूर्वानुमान गरेको विभागले अबको एक सातासम्म पहाडी तथा नदीतटिय क्षेत्रमा बिशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्