Techie IT
Mission Khabar

अब उद्योग वाणिज्य महासंघमा निर्वाचित अध्यक्ष, विधान संशोधनको तयारी


काठमाडौ । चुनावी प्रतिस्पर्धाबाटै अध्यक्ष चुन्ने व्यवस्थासहित नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनको काम अगाडि बढेको छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अटाएर चुनावी प्रतिस्पर्धाबाट नै अध्यक्ष चुनिने गरी व्यवस्था गर्न महासंघको विधान संशोधन गर्न लागिएको हो ।

विधान संसोधनका लागि सबै प्रदेशस्तरीय महासंघका कार्यालय र ७७ वटै जिल्लाका उद्योग वाणिज्य संघ र जिल्ला/नगर संघहरुको सुझाव केन्द्रमा आएको छ । विधान संशोधन भएपनि हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष हुन भने पाउनेछन् । यसपछि मात्रै निर्वाचन प्रक्रियाबाट अध्यक्ष छानिने विधानमै व्यवस्था हुनेछ । महासंघमा विधान संशोधनको विषय लामो समयदेखि उठिरहेपनि व्यक्तिविशेषलाई पदमा पुर्याउन वा हटाउनका लागि विधान संशोधन हुने गरेको आरोप लाग्दै आएको छ । महासंघका अध्यक्ष शेखर गोल्छा समयअनुसार सबै कुरा परिवर्तन हुँदै जाने दाबी गर्दै भन्छन, ‘अहिले आवश्यक ठानेर सबैको माग बमोजिम विधान संशोधनको काम अगाडि बढेको हो ।’

हाल उपाध्यक्ष रहेकोहरु भने अहिले पनि विद्यान संशोधनको विपक्षमा छन् । विद्यान संशोधन भएर अध्यक्षका लागि प्रत्यक्ष निर्वाचन प्रणालि लागू हुँदा धेरै आकांक्षीसँगै प्रतिस्पर्धा कठिन हुने आँकलन गरेका उनीहरुमा पुनःउपाध्यक्षमा नै चुनाव लड्नु पर्ने बाध्यता आउने डर देखिएको छ । विधान संशोधन समितिका सदस्य किशोर प्रधान जिल्ला/नगरका सबैले विधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित अध्यक्षको पक्षमा सुझाव पठाएको बताउँछन् । निजी क्षेत्रमा देखिएको विकृति अन्त्य गर्न पनि विधान संशोधन हुन आवश्यक ठानिएको छ । विधान संशोधन समितिले जिल्ला, प्रदेश र केन्द्रको सुझावबारे कार्यसमितिलाई प्रतिवेदन बुझाएपछि कार्यसमितिले निर्णय गर्ने छ । वस्तुगत, जिल्ला नगर र एसोसिएट्सलाई आफ्नो सुझाव पठाउन महासंघले पत्र पठाएको थियो । वस्तुगत, जिल्ला–नगर र एसोसिएट्सबाट आएको सुझाव हेर्दा ९५ प्रतिशतले विधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रणालीको पक्षमा खुलेका छन् ।

महासंघको चैतमा हुने साधारणसभाभन्दा अगाडि नै विशेष साधारणसभा बोलाएर विधान संशोधनको प्रक्रिया पुरा गर्ने तयारी भैरहेको छ । महासंघका उपाध्यक्ष दिनेशलाल श्रेष्ठले विधान संशोधनमा अध्यक्ष प्रत्यक्ष निर्वाचित हुनुपर्ने विषय मात्रै नभएर धेरै परिवर्तन हुन लागेको बताउँछन् । हालका अधिकांश उपाध्यक्षहरु भ्ने प्रत्यक्ष निर्वाचित अध्यक्षभन्दा पनि वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था नै ठीक भएको बताउँछन् । वरिष्ठ उपाध्यक्षसँग कामको अनुभव हुने भएकाले पछि स्वतःअध्यक्ष भएपछि उसलाई काम गर्न सहज हुने उनीहरुको मत रहेको छ । निजी क्षेत्रका अन्य संस्थाहरुमा पनि वरिष्ठ उपाध्यक्ष स्वतःअध्यक्ष हुने प्रावधान रहेको छ । नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघमा पनि वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुन्छन् । केही समयअघि चेम्बरका वरिष्ठ उपाध्यक्ष र नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष यहि प्रावधान अनुसार नै स्वतःअध्यक्ष भएका थिए ।

महासंघको चुनाव पनि राजनीतिक दलको भन्दा खासै फरक हुँदैन । विभिन्न दलले आफू निकट महासंघका गुट र नेताहरुलाई संरक्षण गर्दै आएका छन् । महासंघको विधान संशोधन समितिको संयोजकमा कुशकुमार जोशी र सदस्यमा किशोर प्राधान र पशुपति मुरारका लगायतका पूर्वअध्यक्षहरु रहेका नेपाल सरकारपछिको ठूलो देशब्यापी सञ्जाल महासंघको नै छ । महासंघको प्रत्येक प्रदेश र जिल्लामा संघहरु क्रियाशिल रहेका छन् ।


क्याटेगोरी : कृषी / उद्यम, देश / प्रदेश, होटल / रेस्टुरेन्ट

तपाईको कमेन्ट लेख्नुहोस्