Techie IT
Mission Khabar

अफगानिस्तानबाट मङ्गलवारसम्म ७ सय ७० जना नेपाली स्वदेश फर्किए


काठमाडौं । अफगानिस्तानमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि मङ्गलवारसम्मको अवधिमा ७ सय ७० जना नेपाली स्वदेश आइपुगेका छन् । मंगलबार १ सय १२ जनासहित अहिलेसम्म सात सय ७० जना नेपाली अफगानिस्तानबाट स्वदेश आइपुगेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो ।

अफगानिस्तानबाट उद्धार भइ दोहा, दुबई, बेलायत र नयाँ दिल्लीमा रहेका नेपालीहरूलाई काठमाडौंसम्म ल्याउनका लागि समन्वय भइरहेको र काबुलमा भने नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण अहिलेसम्म नखुलेकोले त्यहाँ जहाज पठाउन नसकिएको मन्त्रालयले जानकारी दिएको छ । अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाले आफैँ वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/np/ अनलाइन पोर्टलमा रहेको नामसहितको विवरण दर्ता गर्न विभागले भनेको छ । यसका लागि भाइबर र ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय), +९७७ ९८४१ ७९२७७४ (सिचुएशन रुम, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन मन्त्रालयले अनुरोध गरेको छ ।

नाम टिपाएकामध्ये उद्धार भइ सुरक्षित गन्तव्यमा पुगेपछि त्यसको जानकारी माथि उल्लेखित फोन नम्बरहरू, ह्वाट्सएप, भाइबर वा अनलाइन पोर्टलबाट दिन अनुरोध गरिएको छ । उद्धारको प्रतिक्षामा रहेका र सरकारी संयन्त्रमा नाम दर्ता भएकाहरुलाई अमेरिका, बेलायत लगायतका राष्ट्रले जारी राखेको उद्धार उडानबाटै काबुलबाट निकाल्न सहयोग मागिएको र साथ मिलेको सरकारी अधिकारीहरुले बताएका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्