Techie IT
Mission Khabar

नेकपा ए समाजवादी र लोकतान्त्रिक समाजवादीलाई दलको मान्यता, छिट्टै सरकारले पूर्णता पाउने


काठमाडौं । निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको पार्टीलाई प्रमाणपत्र दिएसँगै अब गठबन्धन सरकार विस्तारको बाटो खुलेको छ । एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादी र जसपा विभाजन भई बनेको लोकतान्त्रिक समाजवादी पार्टीलाई आयोगले बुधबार राति प्रमाणपत्र दिएको छ ।

दल विभाजनका लागि ल्याएको अध्यादेशअनुसार दुवै पार्टीले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएपछि आयोगले प्रमाणपत्र दिएको हो । दल विभाजनका लागि भदौ २ गते दिएको निवेदनमा सनाखत गर्न आयोगले बुधबार नेपाल र ठाकुर दुवै पक्षलाई बोलाएको थियो ।

यसरी भयो एमाले विभाजन
पार्टी विभाजन गरी समाजवादी पार्टी गठन गर्न एमालेका ५४ जना केन्द्रीय सदस्य र ३० जना सांसदले सनाखत गरेका थिए । दल विभाजनका लागि साविक एमालेका ५८ जना केन्द्रीय सदस्य र ३१ जना सांसदले भदौ २ गते निर्वाचन आयोगमा आवेदन दिएका थिए । त्यसमध्ये आयोगले ५५ जनाको नाम सनाखतका लागि सार्वजनिक गरेको थियो । यसअघि नाम राखिएका भाष्कर काफ्ले सनाखतका लागि आयोगमा उपस्थित भएनन । नयाँ दल बन्नका लागि ४१ जना मात्रै केन्द्रीय सदस्य आवश्यक पर्ने अवस्थामा माधव नेपाल नेतृत्वको समाजवादीका पक्षमा १३ जना बढी केन्द्रीय सदस्य उपस्थित भए ।

एमाले छाडेर एकिकृत समाजवादीमा खुलेका सांसदहरु
एमालेका १५४ जना संघीय संसदका सदस्यमध्ये ३० जनाले पार्टी विभाजनमा हस्ताक्षर गरेका छन् । यसमा प्रतिनिधिसभाका १२१ जनामध्ये २२ जना र राष्ट्रियसभाका ३३ जना मध्ये आठ जना एकीकृत समाजवादीको पक्षमा उभिएका हुन् । झलनाथ खनाल बाहेक अरु सबै सांसदले आयोगमै उपस्थित भइ विभाजनको पक्षमा सनातखत गरेका थिए । संसदीय दलतर्फ २० प्रतिशत पुर्याउन ३१ जना सांसद आवश्यक पर्ने भए पनि ३० जना मात्रै भए । चार जनाको भदौ २ गते दिइएको आवेदनमा नाम उल्लेख नभएको भन्दै आयोगमा पुगेपनि सांसद सोमप्रसाद पाण्डे, माया ज्ञवाली र शारदादेवी भट्टले सनाखत गर्न पाएनन् ।

लोकतान्त्रिक समाजवादीको पक्षमा १४ सांसद १७ पदाधिकारी
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनाउन साविक जसपाको १४ जना सांसद र १७ जना केन्द्रीय कार्याकारिणी परिषदका सदस्य उपस्थित भए । जसपाका तर्फबाट प्रतिनिधिसभामा ३४ र राष्ट्रियसभामा ३ सांसदमध्ये दुई जना निलम्बित छन् । यसअघि निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिँदा तटस्थ बसेका रेशम चौधरीले डिल्लीबजार कारागारबाटै मञ्जुरीनामा दिएपनि सनाखत गर्न उपस्थित भएनन ।

सत्ता गठबन्धनलाई बहुमत, छिट्टै सरकार विस्तार
माधव नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी एकीकृत समाजवादी बनाएसँगै सत्ता गठबन्धनलाई बहुमत पुगेको छ । नेपालसँग प्रतिनिधिसभाका २३ जना सांसद छन् । अब प्रतिनिधिसभामा सत्ता गठबन्धनसँग कांग्रेसको ६३, माओवादीको ४९, एकीकृत समाजवादीको २३ र जसपाको २१ सहित १५६ सांसद पुगेका छन् । प्रधानमन्त्री देउवालाई समर्थन गरेकाले लोकतान्त्रिक समाजवादीका १३ जना सांसद पनि सरकारकै पक्षमा खुलेपनि मन्त्रिमण्डलमा सहभागि हुने नहुने खुलाइएको छैन । सरकारलाई समर्थन गरेका सांसदहरुको संख्या १६९ रहेको छ । सामान्य बहुमतका लागि १३६ जना सांसद आवश्यक पर्छ । विभाजन भएपछि अब प्रमुख प्रतिपक्ष दलसँग ९८ जना मात्रै सांसद छन् ।

सत्ता गठबन्धनसँग बहुमत नपुगेपछि सरकारले भदौ १ गते पार्टी विभाजनलाई सहज हुने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेको थियो । अध्यादेशमा दल विभाजनका लागि केन्द्रीय सदस्य वा संसदीय दलमा २० प्रतिशत सांसद भए हुने प्रावधान राखिएपछि भोलिपल्टै नेकपा ए समाजवादी र लोकतान्त्रिक समाजवादीले निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

बुधबार दुवै पक्षले २० प्रतिशत पुर्याएर नयाँ दलको मान्यता पाएसँगै अब छिट्टै सरकार विस्तार हुने बताइएको छ । सत्ता साझेदार ४ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नवगठित नेकपा एकिकृत समावादी र जनता समाजवादी पार्टीबीच ६\६ जना मन्त्रि भागबण्डाको सहमति यसअघि नै जुटेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव मन्त्री पठाउन तयारी अवस्थामा रहँदा एकिकृत समाजवादीका माधवकुमार नेपालले दल दर्ताको प्रमाणपत्र आउनासाथ सरकारले पूर्णता पाउने बताउँदैआएका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्