Techie IT
Mission Khabar

बढ्दै ‘स्क्रब टाइफस’ रोगका बिरामी, कसरी बच्ने ?


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोगका बिरामी बढ्न थालेको जानकारी गराएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो रोग स्क्रब टाइफसको संक्रमण बढ्न थालेको जानकारी दिएका हुन ।

डा.अधिकारिले उक्त रोगसँग सचेत रहनसमेत अनुरोध गरेका छन् । कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखाला सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ ।

के हो स्क्रब टाइफस ?
स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो । स्क्रब टाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायतमा सङ्क्रमण र कहिलेकाहीँ बहुअङ्ग विकार ‘मल्टी अर्गन डिल्फसन’ मार्फत जोखिम बढाउनेगर्छ । मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो भएकाले कोभिड–१९ परीक्षण गर्दा नेगेटिभ आए पनि स्क्रब टाइफसको परीक्षण गर्न अनुरोध गरेको छ । स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने भएकाले सचेत हुन भनिएको छ ।

कसरी बच्ने स्क्रब टाइफसबाट ?
डा. अधिकारी समयमा नै रोगको पहिचान गरी औषधि सेवन गरे रोग निको हुने बताउँछन् । मन्त्रालयले समयमा नै उपचार नगरे यसले गम्भीर रुप लिन सक्ने जनाएको छ । किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुल्ला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्न चिकित्सकहरुले सुझाब दिएका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्