Techie IT
Mission Khabar

जोखिममा चुरे क्षेत्रका बस्ती, संरक्षणमा बेवास्था गरिए मेलम्चीको नियती दोहोरिन्छ !


बुटवल, काठमाडौं । अविरल वर्षासँगै गत आइतबार र सोमबार बुटवलको शिरमा रहेको चुरे पहाडमा पहिरो गयो । उक्त पहिरो बुटवलको ज्योतिनगरस्थित बस्तीमा पस्दा १२ घरमा क्षति पुग्यो । ४० घर उच्च जोखिममा परे ।

बुटवल–३ ज्योतिनगरमा गएको यो पहिरो पहिलो भने होइन । यसअघि २०५५ सालमा नै ज्योतिनगरस्थित चुरेको पहाडमा पहिरो जादा ५७ घर पुरिएका थिए । पहिरोले विस्थापित परिवारलाई बुटवलको तामनगरमा जग्गा व्यवस्थापन गरी स्थानान्तरण गरिएको थियो । त्यतिबेलै भूगर्भविद्हरुले ज्योतिनगरको चुरेलाई नचलाउनू, एक चिम्टी माटो पनि ननिकाल्नू भनेर सचेत गराएका थिए । भूगर्भविद्हरुले त अहिले चुरे क्षेत्रको बिनासलाई नरोक्ने हो भने मेलम्ची बाढी पहिरो जस्तो जोखिम ब्यहोर्नुपर्ने चेतावनी दिदैआएका छन् । तर, स्थानीय सरकारसँगै चुरे आसपासका वासिन्दाहरुले यसलाई बेवास्ता गरिरहेका छन् । केही वर्षपछि पहिरो गएको स्थानमै नयां व्यक्तिले खोला र वन अतिक्रमण गरेर घर बनाए । स्थानीय सरकारले चुरे क्षेत्रमा सडक, विद्युतलगायतका पूर्वाधार बनाइरह्यो ।

भूकम्पका कारण पनि चुरे पहाड चिरिएर धांजा फाटेको थियो । माथिबाट बगेर आउने पानी चिरिएको ठाउँमा पस्दा चुरे क्षेत्र थप कमजोर बन्दैआएको छ । अहिलेको पहिरो र पहिरोले पु¥याएको क्षति त्यसकै परिणाम भएको भूगर्भविद्हरु बताउँछन् । अहिले त झन् चुरे क्षेत्रमा अर्बौंको केबुलकारको परियोजना सुरु भएको छ । यसले भोलिएका दिनमा थप जोखिम बढाउने देखिन्छ । पहिरोको उच्च जोखिममा परेको ज्योतिनगरको छेउमै स्टेशन बनाएर बुटवल–बसन्तपुर केबुलकार बनाउने गरी गत फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । यता, राष्ट्रपति तराई–मधेश चुरे संरक्षण विकास समिति कार्यालय बुटवलका प्रमुख अजय कार्की चुरे क्षेत्र अति नै संवेदनशील र कमजोर हुने भएकाले ठूला भौतिक पूर्वाधार थेग्न नसक्ने बताउँछन् । यसै पनि संवेदनशील र कमजोर भूगोलमा यसरी पुर्वाधार बनाइरहनुले चुरे क्षेत्र खल्बिलिएको र जुनसुकै बेला अकल्पनीय क्षति ब्यहोर्नुपर्ने अवस्था रहेको कार्कीले बताए । प्राध्यापक डा.भोजराज कडेरिया समेत मानवीय अतिक्रमण नरोकिए बुटवलको ज्योतिनगर र लक्ष्मीनगरको पुरै पहाड खस्न सक्ने खतरा औँल्याउँछन् ।

केही समय अघि मात्रै बुटवल उपमहानगरपालिकाले चक्रपथ बनाउने भनेर चुरेको फेदमा डोजर चलाएको थियो । वसन्तपुर पुग्ने केवलकारका लागि रुख काटिए । पार्क, मन्दिर, किरियापुत्री भवनजस्ता संरचना बनाइए । यसरी वन अतिक्रमण, डढेलो, वस्तीविकास, विकासका नाममा चुरेमा मनपरी गर्दा चुरे खलबलियो र बग्न थाल्यो । आफ्नै सुखसुविस्ताका लागि प्रकृतिमाथि मनपरी गर्दा त्यसको पीडा बुटवलको उपल्लो बस्तीले भोग्नुपरेको छ । बुटवलको सिरानमा रहेको चुरेमा मात्रै हैन, देशभरकै चुरेमा अतिक्रमण बढ्दो क्रममा देखिएको छ । नेपालको दक्षिणी भेगमा पूर्वदेखि पश्चिमसम्मै फैलिएको कमजोर र पत्रे चट्टानले बनेको भूभागमाथिको अतिक्रमणले मानवीय जीवनशैलीलाई नै प्रभावित गरेको र थप जोखिमको आँकलन भैरहेको छ ।

चुरेनजिकका बस्ती जोगाउने उपाय के ?
देशभरका ३७ जिल्लाकै चुरे नजिकका अधिकांश बस्ती जोखिममा छन् । विभिन्न समयमा भएका अध्ययनहरुले चुरे पहाडमा टाँसिएका बस्ती स्थानान्तरणको उपाय सुझाएका छन् । २०६७ मा संसदको प्राकृतिक श्रोत र साधन समितिले गरेको अध्ययनअनुसार तयार गरेको वनसंरक्षण समस्या अध्ययन प्रतिवेदनले चुरेनजिकका बस्ती जोखिममा रहेको निष्कर्षसहित स्थानान्तरणको विकल्प उपयुक्त हुने सुझाब दिएको थियो । प्रतिवेदनले चुरेमाथि भइरहेको अतिक्रमण रोक्न र नरोकिए चुरेभन्दा दक्षिणको बस्ती जोखिममा पर्ने चेतावनी दिएपनि कार्यान्वयन भएन ।
चुरे क्षेत्रमा मात्रै एक वर्षमा दश हजारभन्दा धेरै पहिरो जान सक्ने स्थल पहिचान भएका छन् ।

चुरे क्षेत्रमा प्रति २४ घण्टामा ४३७ मिलिमिटरसम्म वर्षा हुने भएकाले पनि जोखिम थप बढेको छ । जल तथा मौसम विज्ञान विभागले सन् १९८३ देखि २०१३ सम्म देशका ६ वटा केन्द्रमा गरेको अध्ययनअनुसार अत्याधिक वर्षाले चुरेमा भूस्खलनलाई बढाएको देखाएको थियो । रुपन्देहीको बुटवललाई केन्द्र मानेर गरिएको अध्ययनले बुटवल दोश्रो बढी जोखिमपूर्ण स्थानमा भनेको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले तयार गरेको विवरणले बुटवल क्षेत्रमा एक वर्षमा प्रति २४ घण्टा ३० मिलिमिटर परिमाणभन्दा बढी २ पटक, २५० देखि ३०० मिलिमिटरसम्म २ पटक, १३० देखि २५० मिलिमिटरसम्म ४४ पटक, १०० देखि १३० मिलिमिटरसम्म ५५ पटक वर्षाका घटना रेकर्ड भएको देखाउँछ। वर्षाको परिमाण पनि पछिल्लो समय बढ्दै गएको देखिन्छ । समितिले बुटवलमै पनि गतवर्ष करीब २ करोडको लगानीमा पहिरो रोकथाम गर्ने प्रयास गरेपनि निष्प्रभावी देखिएको छ ।

चुरेको महत्व कति छ, किन जोगाउने ?
करिब चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड श्रृङ्खला नै चुरे हो । यो बालुवा, कंकड र पत्थरद्वारा निर्मित पहाड हो । करिब ४ करोड वर्ष अघि हिमाली क्षेत्रको उत्पत्ति भएपछि करिब १ करोड ५० लाख देखि १० लाख वर्ष अघिसम्मको अवधिमा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको चुरे श्रृङ्खला पश्चिममा पाकिस्तानको इन्डस नदी देखि पूर्वमा भारतको ब्रम्हपुत्र नदीसम्म फैलिएको छ । चुरे श्रृङ्खला शिवालिकको नामबाट पनि चिनिन्छ । राम्ररी नखाँदिएका खुकुलो पत्रे चट्टान भएको र महाभारत पर्वतबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रुपले यो क्षेत्र अत्यन्त संवेदनशील मान्ने गरिएको छ ।

सातै प्रदेशमा पर्ने र ३७ जिल्ला छुने चुरे पहाडले देशको करिब १३ प्रतिशत भूभाग ओगटेको छ । यसको चौडाइ १० देखि ५० किलोमिटरसम्म फैलिएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये ८ वटा जिल्लामा चुरे पहाड श्रृङ्खला छ । जसअनुसार रुपन्देहीमा २३ हजार ५०५.३ हेक्टर क्षेत्रफल चुरेले ओगटेको छ । यस्तै कपिलवस्तुमा २२ हजार ३ सय ८६.३, नवलपरासी (जिल्ला विभाजनअघि) मा १ लाख २३ हजार १ सय ३९ हेक्टर, पाल्पामा २५ हजार ९८.४ हेक्टर, अर्घाखाँचीमा ४६ हजार ६ सय १६, बाँकेमा ८० हजार ८ सय ७२, बर्दियामा ७० हजार १ सय ३२ र दाङमा २ लाख ४८ हजार १ सय ४१ हेक्टर क्षेत्रफल चुरेले ओगटेको छ ।

तराई क्षेत्रको पानीको मुहानसँगै देशको मौसमी प्रणालीलाई सन्तुलनमा राख्ने चुरे क्षेत्र अति नै संवेदनशिल मानिन्छ । तपाई मधेश मात्रै नभएर पहाडी क्षेत्रको समेत मौसमी प्रणालीलाई सन्तुलनमा राख्ने चुरे क्षेत्रको संरक्षणलाई विशेष ध्यानुपर्ने देखिएको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति मार्फत यसको संबेदनशिलतालाई ध्यानमा राखेर संरक्षणको पहल थालिएपनि पर्याप्त देखिएको छैन ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्