Techie IT
Mission Khabar

२४ घण्टामा सातदेखि आठ घण्टा भन्दा कम निदाउदै हुनुहुन्छ,यस्ता जोखिम व्यहोर्नुपर्छ !


एजेन्सी, काठमाडौं । गत सोमबार एक न्युरोलोजी जर्नलमा एउटा अध्ययन रिपोर्ट प्रकाशित भयो । सोच्ने, कारण पत्ता लगाउने, समस्या समाधान गर्ने, निर्णय गर्ने, सम्झने र ध्यान दिने सबै क्षमता मान्छेको निद्रामा निर्भर रहने उक्त अध्ययन रिपोर्टमा उल्लेख गरिएको छ ।

सुत्ने र निदाउने अनुचित तरिकाका कारण अल्जाइमरको समस्या निम्तन सक्छ । एकदमै कम उमेरमा अल्जाइमरको समस्या हुनुको एक प्रमुख कारण नै कम निद्रा हुनु हो भन्ने अध्ययनले देखाएको छ । थोरै समय सुत्नाले निराशा हुन्छ र हृदय रोगको जोखिम पनि हुन्छ । सुत्ने समय, जीवनशैली तथा कुनै कुरा पढ्ने तरिकामा मानिसको ‘बेटा एमोलाइड’ को मात्रा निर्भर रहन्छ । उमेर बढ्दै गएपछि कम सुतेको र धेरै सुतेको दुवै कारणले हृदय रोगको जोखिम बढ्दै जान्छ । दैनिक छ घण्टाभन्दा कम निदाउनेमा ‘बेटा एमोलाइड’ मात्रा एकदमै बढी पाइयो । यस अध्ययनको नेतृत्व गरेका क्यालिफोर्नियाको स्ट्यानफोर्ड विश्व विद्यालयका पोस्ट डक्टर रिसर्च फेलो जोए विनरका अनुसार कम सुत्ने व्यक्तिमा पागलपनको जोखिम समेत उच्च देखिएको छ । सातदेखि आठ घण्टा निदाउने व्यक्तिसँग तुलना गरेर यस्तो निष्कर्ष निकालिएको हो ।

निद्रा नपुगेको कारणले पाको उमेरका व्यक्तिहरूमा त गम्भीर समस्या देखिने गरेको छ । कम सुत्नेहरूमा कुनै कुरामा ध्यान दिने, सम्झने र भाषा बुझ्नेलगायत विषयमा समस्या आउँछ । बिस्तारै राम्रोसँग देख्न पनि नसक्ने हुँदै पागलपनको अवस्था हुनसक्छ । बढी सुत्नेहरूमा पनि अनेक समस्याहरू उत्पन्न हुन सक्छन् तर यिनीहरूमा ‘बेटा एमोलाइड’ बढ्ने समस्या हुँदैन । नौ घण्टा या वा सो भन्दा बढी समय सुत्नेहरू मानसिक रूपमा कमजोर तथा उनीहरूको मस्तिष्कको क्षमता पनि कम भएको पाइयो । सिकाइको क्रममा बढी सुत्ने कारणले कस्तो असर गर्छ भन्ने पनि अध्ययन भएको थियो । मान्छेको जीवनमा सुताइ र निद्राको भूमिकालाई वैज्ञानिकरूपले एक मापदण्डमा प्रस्तुत गर्न यो अध्ययन आवश्यक भएको हो । कम सुत्ने र धेरै सुत्ने दुवैमा बढी वजनको समस्या देखिएको छ । यो समस्या धेरै सुत्नेमा बढी रहेको पाइएको छ । कम निदाउँदा बढ्ने ‘बेटा एमोलाइड’ बारे कमैलाई थाहा छ । सामान्यतया हाम्रो मस्तिष्कको गतिविधि भइरहँदा एक खालको प्रोटिन उत्पादन हुन्छ । यो प्रोटिन नै ‘बेटा एमोलाइड’ हो । अल्जाइमरको मापन गर्ने पहिलो आधार नै ‘बेटा एमोलाइड’ हो ।

मस्तिष्कमा ‘बेटा एमोलाइड’ बढ्दै गएपछि भित्तामा टाँसिदै जान्छ । यसले बिस्तारै मानिसमा बिर्सने र मस्तिष्कलाई कमजोर पार्ने समस्या उत्पन्न गराउन सक्छ । कसैमा भने यो प्रोटिन मनग्ये भेटिए पनि स्वास्थ्यमा गडबडी भएको छैन । सत्तरी वर्ष वा सोभन्दा माथिका ३० प्रतिशत स्वास्थ मानिसमा ‘बेटा एमोलाइड’ फेला परेको छ । जब मानिसमा अल्जाइमरको समस्या उत्पन्न हुन्छ तब मरेको सेलको पुनर्जागरण हुनमा अवरोध हुन्छ । यसले गर्दा कुनै कुरा भण्डार गर्ने क्षमता मस्तिष्कमा हुँदैन । यसमा आधारित सिद्धान्त ‘एमोलाइड हाइपोथेसिस’ हो । यसले मानिसको मस्तिष्कमा कसरी क्षति हुन्छ भन्ने व्याख्या गरेको छ । यस सिद्धान्तका अनुसार बिस्तारै मस्तिष्कमा एउटा कोषबाट अर्को कोषसँग समन्वय हुन छाड्छ अनि कारण मस्तिष्कका कोषहरू मर्ने गर्छन् ।

बेलायतका अल्जाइमर्स रिसर्चका कम्युनिकेसन प्रमुख लाउरा फिप्सका अनुसार ‘बेटा एमोलाइड’ नियन्त्रण गर्न ठिक्क मात्रामा निदाउने बाहेक अर्को विकल्प नै छैन । अल्जाइमरको लक्षण देखिनुभन्दा धेरै वर्ष अघि नै ‘बेटा एमोलाइड’ बन्न शुरू भएको हुन्छ । यो बढेको पत्तै हुँदैन । अल्जाइमरको लक्षण देखिन थाल्दा धेरै ढिलो भइसकेको हुन्छ । यो अध्ययन ४ हजार ४१७ जनामा गरिएको हो । यिनीहरूको औसत उमेर ७१ दशमलव ३ वर्ष हो । अध्ययनमा सहभागी गराइएकाहरू अमेरिका, क्यानडा, जापान र अस्ट्रेलियाबाट थिए । यो अध्ययनसँगै देखिएको एउटा तथ्य के हो भने ठिक्क समय (आठ घण्टा) बाहेक घटी या बढी सुत्ने मानिसहरूमा निराशाको समस्या देखिएको थियो । कफी सेवनले सुत्ने समयमा खासै असर गरेको देखिएन तर दैनिक मदिरा सेवन गर्ने मानिस सामान्यभन्दा बढी निदाउने गरेको पाइयो । लैङ्गिक र जिनको आधारमा पनि धेरै कुरा फरक भएको पाइयो ।

मानिसको स्वास्थ्य निद्रा र निदाउने समयसँग धेरै हदसम्म निर्भर रहेको अध्ययनहरुले देखाएका छन् । धेरै सुत्नु वा थोरै सुत्नु दुवै हानिकारक छन् । पछिल्लो एक अध्ययनले अल्जाइमर्स रोग र निद्राको सम्बन्ध फेला पारेको छ । महिला र धेरै वर्ष औपचारिक अध्ययनमा बिताउनेहरू धेरै सुत्ने गरेको पाइयो । गोरा जातिका मानिस २४ घण्टामा ७ घण्टा नौ मिनेटको दरले सुत्ने गरेको पाइयो । अफ्रिकी अमेरिकीहरू औसतमा गोरा जातिका भन्दा ३७ दशमलव ९ मिनेट कम सुत्ने गरेको पाइयो । गोरा जाति भन्दा एसियालीहरू २७ दशमलव ३ मिनेट कम समय सुत्ने गरेका रहेछन् । ल्याटिनो तथा हिस्पानिकहरू गोराहरू गोरा जातिभन्दा १५ मिनेट कम सुत्ने गरेका रहेछन् । सुत्ने समय हृदय रोगसँग मात्र होइन मेटाबोलिक स्वास्थ्यसँग पनि सम्बन्धित रहेको तथ्यले देखाएको छ । मानिसको सुत्ने समय सामाजिक र आर्थिक संरचनामा निर्भर रहेको पाइएको छ । सामाजिक विषयमा जातीय भेदभाव र कथित जातिवादले मानिसको सुत्ने समयमा धेरै असर गरेको देखियो । विभिन्न खाले भेदभाव सहनेहरू कम समय सुत्ने गरेको अध्ययनबाट पाइएको छ ।

यी आधार र एक आपसमा सम्बन्धित कुराको सेरोफेरोमा भविष्यमा सुत्ने तरिका र सुत्ने समयका कारण मानिसमा हुने शारीरिक एवं बौद्धिक र मानसिक क्षमतामा पर्ने प्रभावका बारे थप अध्ययन हुने नै छन् । फिप्सका अनुसार उनी आबद्ध संस्थाले भविष्यमा ठूलो स्वस्थ मानिसहरूमा पनि अध्ययन गर्नेछ । उनका अनुसार सहभागीले आफूले सुत्ने समयका बारे कतिको सही बताउँछन् भन्ने कुराले पनि अध्ययनको परिणाम निर्भर रहन्छ । अनुसन्धानको थप लक्ष्य पनि छ । कुन उमेर कति समय निदाउनु पर्याप्त हो भन्ने कुराको कुराका लागि थुप्रै उमेर समूह र फरक शारीरिक अवस्था भएकाहरूमा अध्ययन हुनेछ । यो अध्ययनको अर्को पाटो पनि छ । गहिरो निद्रासहित सुत्ने वा हल्का सुत्ने मानिसको शरीरमा आउने भिन्नताबारे पनि भविष्यमा अध्ययन गर्ने तयारी छ । बुढापाकाहरूमा अर्को अध्ययन पनि एकै पटक गर्ने तयारी छ । सुत्ने समयका साथै भोजन, जीवनयापनको अन्य शैली र शरीरमा पर्ने असरबारे पनि एकै पटक अध्ययन हुनेछ ।

अन्वेषक विनरले यो अध्ययनपछि कुन जीवन शैली भएका मान्छेको सुत्ने समय कति हुनुपर्छ भन्ने पनि मापन हुन सक्ने बताएका छन् । सुत्ने आदत र यसले स्वास्थ्यमा पर्न सक्ने दीर्घकालीन असरबारे अझ लामो समय धेरै विषयमा अध्ययन हुने अनुसन्धानकर्ताहरू बताउँछन् । धेरै चिकित्सकको मत के छ भने सात घण्टादेखि नौ घण्टा उपयुक्त हो तर सुत्ने तरिकामा पनि धेरै कुरा निर्भर रहन सक्छ । यसअघि पनि सुत्ने समय र मानिसको स्वास्थ्यबारे धेरै अनुसन्धान नभएका होइनन् । पर्याप्त मात्रामा सुतेपछि मानसिक रूपमा स्फूर्ति जाग्ने त धेरैलाई अनुभव भएकै कुरा हो । अर्को एक अध्ययनले कम सुत्ने मानिसमा रक्त सञ्चारको समस्या हुने र यसले अन्ततः मुटुमा असर गर्ने ठहर गरेको छ । खेल क्षेत्रको हकमा पनि पर्याप्त मात्रामा सुत्नु र नसुत्नुको अर्थ रहने गरेको छ । शीघ्र स्वास्थ्य लाभका लागि निद्रा सबैभन्दा राम्रो उपाय मानिएको छ ।

मांसपेशीको बनोटमा पनि निद्राले असर गर्ने विभिन्न अध्ययनहरूले देखाएका छन् । यस कारण खेलकुदमा रहेका तथा यसमै जिउन चाहनेका लागि आवश्यक मात्रामा निदाउनु अनिवार्य छ । कम समय सुत्ने मानिसलाई ‘लो ब्लड सुगर’ को समस्याले पनि सताउन सक्छ । हामी जति बढी जागा हुन्छौँ, ग्लुकोज पनि बढी नै खपत हुन्छ । शरीरले ‘ब्लड सुगर’ सन्तुलनमा ल्याउन सबै कोषलाई सक्रिय नराख्न पनि सक्छन् । यस कारण कम सुत्ने मानिसमा ‘लो ब्लड सुगर’ को समस्या हुन सक्छ । कम सुत्ने मान्छेमा इम्युन कोष पनि कम हुने गरेको पाइएको छ । इम्युन कोषको कमी हुँदा रोगले तत्काल आक्रमण गर्न सक्छ । कम सुत्ने मान्छेमा बढी भोक लाग्ने समस्याको पनि हुन सक्छ । सुतेको समयमा विभिन्न हर्मोनको उत्पादन र नियन्त्रण दुवै काम शरीरले गरेको हुन्छ । लगातार लामो समय नसुत्दा यो प्रक्रिया अवरुद्ध हुन्छ ।

पर्याप्त मात्रामा नसुत्दा दुई हार्मोनको सन्तुलन बिग्रन जान्छ । ग्रेहेलिनको मात्रा बढ्छ भने लेप्टिनको मात्रा घट्छ । यो घटबढले थोरै सुत्ने व्यक्तिमा धेरै भोक लाग्ने समस्या उत्पन्न हुने सम्भावना प्रबल हुन्छ । सुत्ने समयसँग मानिसको शरीरको सम्बन्धबारे आधुनिक विज्ञानमात्र होइन, आयुर्वेद र अन्य सबै परम्परागत स्वास्थ्य विज्ञानले वर्षौंदेखि अध्ययन गरेका छन् । यी सबै अध्ययनको निष्कर्षमा करिब एउटै छ, स्वस्थ जीवनयापनका लागि हरेक व्यक्ति २४ घण्टामा सातदेखि आठ घण्टा निदाउनै पर्छ । श्रोतः विभिन्न एजेन्सीहरु


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्