Techie IT
Mission Khabar

अझै तीन दिनसम्म झरी, यी हुन जोखिममा रहेका क्षेत्रहरु


काठमाडौं । आगामी ३ दिनसम्म नेपालका धेरै स्थानमा मेघ गर्जन सहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । हाल उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव रहेकोले देशभर सामान्य तथा पूर्ण बदली रहेको र यो क्रम तीनदिनसम्म जारी रहने महाशाखाले जानकारी दिएको हो ।

अहिले पनि प्रदेश १, प्रदेश २, बाग्मति, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भईहरेको बताइएको छ । महाशाखाका अनुसार प्रदेश १, बाग्मति प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको संभावना रहेको छ। यस्तै गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही र प्रदश १, बाग्मती तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा रातमा पनि भारी वर्षा हुने महाशाखाले जनाएको छ। पानीसँगै चट्याङ पर्ने संभावना पनि रहेको महाशाखाले जनाएको छ। झरीको यो क्रम आगामी तीन दिनसम्म कायम रहने भन्दै मौसमविद्हरुले पहिरोको जोखिम रहेका पहाडी क्षेत्र र डुबान एवंम बाढीको जोखिम रहेका नदीतटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् ।

काठमाडौंमा ५ घण्टामा १ सय २१ दशमलव ५ मिलिमिटर वर्षा
काठमाडौंमा पछिल्लो ५ घण्टामा १ सय २१ दशमलव ५ मिलिमिटर वर्षा भएको छ । यो वर्षको मनसुनमा काठमाडौंमा पहिलो पटक छोटो अवधिमा यति धेरै पानी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । एकै पटक परेको ठूलो वर्षाका कारण काठमाडौं उपत्यकाका धेरै ठाउँ जलमग्न भएका छन् । अहिले पानी पर्न रोकिए पनि आज राति ठूलो वर्षाको आँकलन गरिएको छ । राति वाग्मतीसहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी पर्ने पूर्वानुमान महाशाखाले गरेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्