Techie IT
Mission Khabar

डोटीमा किबी खेतीतर्फ आकर्षण, आम्दानी बढ्दा किसान खुसी


डोटी, काठमाडौं । पछिल्लो समय डोटीका किसान किवी खेतीतर्फ आकर्षित हुन थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको कृषि आधुनिकीकरण नीतिसँगै मकै रोप्ने बारीमा किवीबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू व्यावसायिक किवी खेतीमा आकर्षित भएका हुन् । एक पटक रोपेपछि वर्षाैँसम्म आम्दानी लिन सकिने भएपछि यसमा आकर्षण बढेको किसानहरु बताउँछन् ।

डोटीको जोरायल गाउँपालिका ५ गड्सेरा, दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका लगायतका ठाउँमा सबैभन्दा बढी किवी खेती गर्ने गरिएको छ । दिपायल सिलगढी नगरपालिका सिलगढीका स्थानीयवासी तथा किवी किसान हेम मल्ल आठ वर्ष पहिले परीक्षणका लागि लगाइएको किवीले अहिले राम्रो फल दिन सुरु गरेको बताउँछन । आफ्नो बारीमा उत्पादन भएका किवीका लागि स्थानीय बजारसँगै छिमेकी जिल्ला डडेल्धुरा र कैलालीसम्मबाट माग हुने गरेको उनले बताए । जोरायल गाउँपालिका ५ गड्सेराका किसान लीलाधर विष्ट जमिन भाडामा लिएर किवी खेती गरेको र राम्रो फलेपछि घरैमा आम्दानी हुन थालेको बताउँछन् । किवी प्रति किलो स्थानीय बजारमा दुई सय ५० देखि तीन सय रुपैयाँसम्ममा सहजै बिक्री हुने गरेको किसानहरु बताउँछन् ।

रोपेको तीन वर्षदेखि उत्पादन दिन सुरु गर्ने यो बिरुवाले लगातार ५० वर्षसम्म राम्रो उत्पादन दिने कृषि केन्द्रले बताउने गरेको छ । किवीको नियमित सेवनबाट गर्भवती महिला, मुटुका बिरामीलगायतलाई फाइदा पुग्छ । जडीबुटीको उत्पादनमा पनि किवीको प्रयोग हुँदै आएको कृषि प्राविधिकहरू बताउँछन् । किवी खेती १२ सयदेखि दुई हजार फिटसम्मको उचाइमा लगाउने गरिएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, कृषी / उद्यम, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्