Techie IT
Mission Khabar

जनताको परिक्षामा सधै असफल शिर्ष नेता, देखिदैन सुध्रिने छाँटकाँट


काठमाडौं । नेपालमा जति पनि ठूला राजनीतिक दल छन्, यी सबै दलका शिर्ष नेतृत्व जनताको परिक्षणमा असफल साबित भइसकेका छन् । राज्य सत्तामा होस् वा पार्टी नेतृत्वमा, जनताबाट कहिल्यै प्रसंशा वाहावाही बटुल्न सकेका छैनन । तर बिडम्बना अहिले पनि देश तथा पार्टी हाँक्न तीनै नेताहरु तम्सिरहेका छन् । लाग्छ, उनीहरुको शब्द कोषमा आत्मग्लानी भन्ने शब्द नै छैन ।

हामी जनताले कहिलेसम्म असफल नेताको भारी बोकि रहने ? नेपालमा राज नेता भन्न लायक नेता नजिन्मिएका होइनन् । हुनसक्छ, विपी कोइराला जति वजनदार राज नेता यो मुलुकले कहिल्यै पाउन सकेन । तर पनि, कृष्णप्रसाद भट्टराई मनमोहन अधिकारी जस्ता नेताले व्यक्तिगत स्वार्थ भन्दापनि राष्ट्रिय हितमा काम गरेको विगत समेत हाम्रा नेताका लागि फगतको इतिहास बनेको छ । विगतमा शिर्ष नेतृत्वले सत्ताका लागि कहिल्यै मरिहत्ते गरेनन् । गणेशमान सिंहले त २०४६ सालको परिवर्तन लगत्तै हातमा आएको प्रधानमन्त्री पद समेत अस्वीकार गरेर इतिहासमा कुनै राजनीतिज्ञ देखाउन नसकेको त्याग देखाए । जनताको नजरमा नायक बनेका यी नेताहरु आफ्नै दलमा भने खुम्चिएर बस्नुपर्यो । कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले त जीवनको उत्तराद्र्धमा आफैँले गठन गरेको दलका नेताहरुबाट उपेक्षित महसुस गर्नु पर्यो । यहि प्रबृत्ति बढ्दा यी आदर्शवान जेताहरुले आफू जस्ता आदर्शवादी नेता यो मुलुकलाई दिन सकेनन्, बनाउन सकेनन् ।

अहिलेका नेताहरु राजनीति भनेको पदका लागि मात्र गर्नु पर्छ भन्ने ठम्याइमा पुगेका छन् । हरेकले राजनीतिलाई अवशरका रुपमा हेर्दा देश र जनताको सेवाभाव भन्दा व्यतिथि मौलाइरहेको छ । अहिले यो मुलुकलाई आफ्नो इशारामा चलाउन सक्ने केही सिमित नेताहरु जनताको परिक्षामा पटक पटक असफल ठहरिएका छन् । तर, पनि सत्तामा काबिज हुने लोभ कहिल्यै त्याग्न सकेनन् । जसको उदाहरण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बन्दैछन् । शारीरिक रुपमा कमजोर बन्दै गइरहेका ओली अहिलेसम्म राजकीय मोहबाट टाढा हुन सकेका छैनन् । फेरि प्रधानमन्त्री बन्ने चाहना पालेका ओलीले मुलुकलाई निर्वाचनमा लगेर राज्य शक्तिको आडमा बहुमत हासिल गर्ने योजना समेत बनाएका थिए । यहि सपना साँचेर दुई पटक प्रतिनिधि सभा विघटन गरेर असफल हुँदा समेत उनको मनमा ग्लानीको भाव देखिएन ।

आफू सत्तामा रहँदा मनलाग्दी गरेका ओली अहिलेको नियुक्ति, मानपदवी लगायतमा रुखो टिप्पणी गरिरहेका छन् । आफूले जे गरेपनि ठिक अरुले राम्रो गरेपनि बेठीक देख्ने ओली प्रबृत्ति हरेक नेतामा छ । पार्टीको अध्यक्ष नै प्रधानमन्त्री बन्ने प्रचलनका कारण ओली जसरी भएपनि फेरि एक पटक एमालेको अध्यक्ष बन्न चाहन्छन् । तर, एमालेको विधानको धारा ६५ को उपधारा ३ मा सबै कार्यकारी कमिटीमा निर्वाचित वा मनोनित हुन उमेरको हद ७० वर्ष हुने उल्लेख छ । एक पटक फेरि अध्यक्षमा निरन्तरता खोजी रहेका ओली आगामी फागुनमा ७० वर्ष पुग्ने भएकाले त्योभन्दा अघि मंसिरमा नै महाधिवेसन गर्ने तथा अध्यक्षमा दोहरिने योजना बनाउँदैछन् । ओलीको यो योजनालाई पार्टीका अन्य नेताको पनि साथ छ ।

यो रोग मुलुकका अन्य दलमा पनि देखिन्छ । पाँच पटक यो मुलुकको प्रधानमन्त्री तथा एक कार्यकाल नेपाली कांग्रेसको सभापति बनेका शेरबहादुर देउवाले ७५ वर्षको उमेरमा समेत फेरि सभापति र प्रधानमन्त्री बन्ने मोह त्याग्न सकेका छैनन् । आफू बारम्बार जनता र कार्यकर्ताको नजरमा असफल साबित हुँदा समेत उनको मनबाट सत्तामोह टुट्न सकेको छैन । भनिन्छ, सत्ताको मात यस्तो हुन्छ, जसले एक पटक स्वाद चाख्छ, जिन्दगीभर त्यसबाट टाढा रहन सक्दैन । नेकपा माले र माक्र्सवादीको एकतापछि बनेको नेकपा एमालेमा दुई दशकभन्दा बढी नेतृत्व गरेका माधवकुमार नेपाल एमालेमा भविष्य नदेखेर नयाँ दल गठन गर्न पुगे । एमालेमा केपी शर्मा ओलीको बढ्दो बर्चश्वलाई तोडेर फेरि पार्टी नेतृत्वमा पुग्न सकिन्छ भन्ने भ्रम नेपाल मुक्त थिए । एमालेको विधानले ७० वर्ष भन्दा माथिका नेतालाई कार्यकारी पदमा निषेध गरेको अनि, तत्काल एमालेमा ओलीको बढ्दो शक्तिलाई जित्न नसक्ने तथा भविष्यमा मुलुकको कार्यकारी पदमा आसिन हुन नसक्ने धारणा बनाएपछि नेपालले नेकपा एकीकृत समाजवादी दल गठन गरेका हुन् । जनताबाट असफलको ट्याग भिरी सकेका ६९ वर्षका माधव नेपाल अहिले पनि सत्ताको मोहबाट टाढिन सकेका छैनन् । यसपाली ओलीसँग जित्न नसकिने अनि अर्को महाधिवेसनसम्म विधानले नै अध्यक्ष बन्न निषेध गरेकाले पनि आफूले जन्माएको पार्टीबाट नेपालको मोह भंग भएको हो ।

नेकपा माओवादीको गठनसँगै त्यसको नेतृत्वमा आसिन पुष्पकमल दाहाल प्रचण्डको व्यक्तित्वको ओज जनयुद्ध ताकाजति थियो, समयसँगै त्यसमा ह्रास आउँदै छ । हुनत भविष्यमा प्रधानमन्त्री बन्न अनेकौँ दाउ रच्दै गरेका प्रचण्ड अहिले नेपालको राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको नेतृत्वमा रहेका सबैभन्दा कान्छा नेता हुन् । उनको उमेरले अबको ३ वर्ष पछि मात्र ७० को आंकडा छुनेछ । दुई पटक प्रधानमन्त्री बन्दा उनले पनि जनयुद्धमा गरेका वाचा भुलेको महसुस गरिएको थियो । नेपालको राजनीतिमा किङमेकर बनेका नेताहरु अब जेष्ठ नागरिक बनि सकेका छन् । तर, पदको लोभ उनीहरुबाट टाढा हुन सकेको छैन । असफलताको ग्रन्थ लेखेका ठूला दलका नेताहरुले नेतृत्वमा लिसो झैँ टाँसिने लोभ त्याग्न सकेका छैनन् । त्यसमा विधान विपरित एमालेमा फेरि अध्यक्ष बन्ने चाहना पालेका ओलीसहित सबै दलका नेता छन् ।

नेपालका अधिकांश ठूला दल केही महिनाभित्रै महाधिवेसनमा होमिनु पर्ने बाध्यतामा छन् । तर, अहिले पनि तिनै असफल नेताहरु राज्य र पार्टीको सत्तामा आँखा गाढीरहेका छन् । यिनै नेताहरुको अदुरदर्शीताका कारण मुलुकको विकास उल्टो गतिमा चल्दै छ । तर, उनीहरु आफूहरु असफल भइसकेको र नयाँलाई मौका दिनु पर्छ भन्ने निर्णय लिन सधैँ पछाडि पर्ने गरेका छन् । जसले गर्दा मुलुकको राजनीति र राजनीतिज्ञसँग जनता विरक्तिन थालेका छन् । त्यसैले अब मुलुकको भविष्यमाथि नेताको व्यक्तिगत मत्वाकांक्षा हाबी हुने क्रम भंग हुनु आवश्यक छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्