Techie IT
Mission Khabar

कांग्रेसको पालिका अधिबेशनमा चरम ब्यतिथि, मदनबहादुर अमात्यले खेले यस्तो खेल


दिपक अर्याल,ललितपुर । ललितपुरको बागमती गाउँपालिकाको अधिवेशनमा सहमतिको नाममा ८० प्रतिशत मतदाताको अपमान गरिएको भन्दै काँग्रेस कार्यकर्ताहरुले आक्रोश व्यक्त गरेका छन्। सहमतिको नाममा उम्मेदवारी नै दर्ता नगरेका, पटकपटक जिल्ला सदस्यमा निर्वाचित भइसकेका तथा १४ओैं महाधिवेशनमा संघीय महाधिवेशन प्रतिनिधिको दौडमा सक्रिय रहेका व्यक्तिलाई पालिका सभापति बनाइएपछि बागमतीमा कांग्रेसभित्र असन्तुष्टि चुलिएको हो ।

असोज ११ गते सोमबार भएको बागमती गाउँपालिकाको अधिवेशनमा वडा नं. १ का अध्यक्ष तथा निवर्तमान इकाई सभापति जगतबहादुर लो र वडा नं. ४ का निवर्तमान वडा सभापति सुनबहादुर लामा (सोना) पालिका सभापतिको दावेदार थिए। तर यी दुवै ब्यक्तिलाई सभापति हुनबाट रोक्दै एकाएक बागमती गाउँपालिकाका अध्यक्ष समेत रहेका बिरबहादुर लोप्चनलाई सभापति बनाइयो । बागमती गाउँपालिकाको सभापतिका दावेदारीमा रहेका जगतबहादुर लो जिल्ला तहमा उदयशम्शेर राणा निकट हुन् भने सुनबहादुर लामा सभापति मदनबहादुर अमात्य निकट हुन्। पालिका अधिवेशनमा मतदान भएको भए उम्मेदवार लो विजयी हुने पक्कापक्की रहेका स्थानीय नेताहरु बताउँछन् । ७ वटा वडामध्ये ३ वटा वडाको सतप्रतिशत मतदाता लोको पक्षमा थिए । बाँकी ३ वटा वडाका पनि ५५ प्रतिशत मतदाताहरु लो कै पक्षमा रहेका स्थानीय कांग्रेस नेताहरुको दाबी रहदैआएको छ । निर्वाचनमा मतदान भएको भए लामाले २० प्रतिशत भन्दा बढि मत पाउन सक्ने अवस्था नरहेको अधिवेशनमा सहभागी एक कार्यकर्ताको जिकिर छ ।

वर्तमान जिल्ला सभापति अमात्यले राणाको निकटमा रहेका मान्छेलाई जिल्लाका कुनै पनि तहमा कुनै हालतमा सभापति बन्नै नदिने योजना अनुसार यो खेल खेलिएको बताइएको छ । सोही कारण लामाको प्रस्तावमा बिरबहादुर लोप्चनलाई सर्वसहमति गरेर पालिका सभापति वनाउने र लोले मानिदिनु पर्ने भन्ने कुरा चल्यो। निर्वाचन समिति र सहमतिका लागि प्रयासरत नेताहरु कवेलबहादुर लामा, बिरबहादुर लोप्चन, रविन्स शर्मा र निवर्तमान पालिका सभापति बिष्णुप्रसाद तिमल्सिनाले पनि यो प्रस्तावलाई अश्वीकार गरेनन् । सहमति नै गर्नुपर्ने दवाव र आफू पराजित हुनुपर्ने अवस्था देखेपछि दावेदार लामाले चुनाव नै हुन नदिने र बिरबहादुरलाई सभापति बनाएर जगतबहादुरलाई पनि सफल हुन नदिने रणनीति अपनाएपछि जगतबहादुरले थेग्न सकेनन्। उनी सभापतिको रेसबाट बाहिरिए। उनलाई उपसभापतिको पद भिराइयो, सभापति नस्वीकारेपछि उपसभापति पदमा नबस्न जगतलाई कार्यकर्ताले दवाव दिइरहे । सभापति सहितको प्यानल घोषणा भएको आधा घण्टा नवित्दै जगतले उपसभापति नबन्ने भन्दै राजीनामा दिए।

७ वडा वडा रहेको बागमती गाउँपालिकामा नेपाली कांग्रेसको पालिका अधिवेशनका लागि मतदान गर्न १३८ जना क्षेत्रीय प्रतिनिधि वडा तहबाटै चुनिएर आएका छन्। यसरी वडा तहबाट चुनिएर आएका प्रतिनिधिहरुले कांग्रेसको जिल्ला अधिवेशनसम्म मतदान गरी नेतृत्व चयन गर्ने प्रक्रियामा भाग लिन पाउँछन् । वाग्मती गाउँपालिका वडा नं. १ का ज्ञानबहादुर लोले सहमतिका नाममा पार्टी र स्थानीय तहमा लोकप्रिय रहेको व्यक्तिलाई सभापति हुन नदिनु अन्यायपूर्ण भएको बताए ।

सभापतिका दावेदारीमा रहेका सुनबहादुर लामा विवादास्पद व्यक्ति हुन्। उनी अपराधिक गतिविधिमा संग्लग्न रहेका कारण केही वर्ष पहिले प्रहरीको वान्टेड सूचीमा थिए। राजनीतिक दवाव र प्रभावका आधारमा त्यसलाई मिलाएर सुनबहदुरलाई उन्मुक्ति दिइएको वताउँछन् एक कांग्रेस कार्यकर्ता। त्यसपछि सुनबहादुर मदन अमात्यको आशीर्वादमा राजनीतिमा हावी भए । १० वर्ष प्युटार गाउँ इकाई कब्जा गर्न सफल भएको कांग्रेसी कार्यकर्ताको भनाई छ। यही भदौ २१ गते सम्पन्न भएको वडा अधिवेशनमा उनै सुनबहादुरको प्रस्तावमा दलितलाई बोक्सीको आरोपमा दिशा खुवाउने विमला लामालाई बागमती गाउँपालिका वडा नं. ४ को वडा सभापति बनाइएको छ । विमला लामाले २०६५ साल चैत्र ७ गते कल्लीकुमारी विकलाई दलितको आरोपमा दिशा खुवाएकी थिइन् ।

बोक्सीको आरोपमा यातना दिने र मलमूत्रसमेत खुवाउने यस किसिमका मानवताविरोधी, घृणित र निन्दनीय कार्य गर्ने उनी तत्कालीन अवस्थामा प्युटारकै एक विद्यालयमा शिक्षण पेशमा संग्लग्न थिइन। यही घटनाका कारण तत्कालीन अवस्थामै उनलाई जागीरबाट समेत बर्खास्त गरिएको थियो ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्