Techie IT
Mission Khabar

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलन, बार र बेञ्चबीच बढ्दै टकराब


काठमाडौं । पाँच दिने अल्टिमेटम दिएर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएशनले आजदेखि आन्दोलन सुरु गरेको छ । आन्दोलन कार्यक्रमको पहिलो दिन कानुन व्यवसायीले बिहान एक घण्टा हातमा कालो पट्टी बाँधेर प्रदर्शन गरेका छन् । बारको नेतृत्वमा बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा विरोध प्रदर्शन भएको हो ।

बारले प्रधानन्यायाधीश जबराले न्यायपालिकाको गरिमा कायम राख्न नसकेको भन्दै राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग अघि सार्दै आएको छ । बारले शुक्रवार आन्दोलनका कार्यक्रम घोषणा गरी प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन ५ दिनको अल्टिमेटम दिएको थियो । आउँदो बुधवारसम्म बिहान १० देखि ११ बजेसम्म कालो पट्टी बाँधेर सर्वोच्चमा विरोध कार्यक्रम गर्ने र १६ गते बारको प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने बारले जानकारी दिएको छ ।

प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनले तिब्रता पाउँदैगर्दा बार र बेञ्चबीचको टकराब भने नयाँ मोडमा पुग्ने देखिएको छ । न्यायाधीशहरु र बारका अधिकांश कानुन व्यवसायीले एक्ल्याएका प्रधानन्याधीश जबरा आफ्नो पक्षमा समेत आन्दोलनको माहौँल बढाउन सक्रिय देखिएका छन् । इजलास बहिस्कार गर्न पाइदैन भन्दै सेवाग्राहीको पक्षमा कानुनका विद्यार्थीबाट माइतीघर मण्डलामा सुरु गरिएको आन्दोलनमा बारसँगै कतिपय अधिवक्ताहरु समेत मिसिन थालेका छन् ।

प्रधानन्यायाधीशको पक्ष र बिपक्षमा आन्दोलनको माहौँल बढाएर शक्ति आर्जनको प्रतिस्पर्धा चल्दा मुद्धाको चाप ब्यवस्थापन गर्न नसकेको सर्बोच्च अदालत थप भद्रगोल बन्ने देखिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्