Techie IT
Mission Khabar

तिहारको तेश्रो दिन, घरघरमा दीपावली गरी लक्ष्मीपूजा गरिँदै


काठमाडौं । यमपञ्चक अर्थात तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा गरिँदैछ । आज बिहान घर आँगन लिपपोत गरी बेलुका दीपावली गरी ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गर्ने गरिन्छ ।

विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायत सरसफाइ गरी दीपावली मनाउँदा लक्ष्मी प्रशन्न हुने जनविश्वास रहिआएको छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि समेत भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो एक हो । लक्ष्मी पूजाका लागि आँगनदेखि मुलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलिमिली बनाइन्छ । धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम मैनबत्ती बाल्ने चलन बढ्दै गए पनि दियोमा तेल राखेर बत्ती बाल्नु नै वैदिक परम्परा भएको बताउँछन् ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ । आजै बेलुकाबाट देउसी भैली खेल्न सुरु गरिन्छ । भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिने गरिन्छ ।  लक्ष्मी पूजाका अवसरमा सहर बजारमा दीपावली गरी झिलिमिली बनाइन्छ । परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलन भएपनि शास्त्रीयरुपमा भने कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने हुन्छ ।

कार्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघि नदी, तलाउ वा धारामा गइ स्नान गरी मनाइने नरक चतुर्दशी पर्व पनि मनाइएको छ। कुकुर तिहार र नरक चतुर्दशी तिहारको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण कुकुर तिहार दोस्रो दिन बुधबार र नरक चतुर्दशी तेस्रो दिन आज परेको हो ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्