Techie IT
Mission Khabar

वाग्मती सफाइ अभियानको ४४३ औँ हप्ता, भाइटीकामा समेत रोकिएन महाअभियान


काठमाडौं । तिहारको अन्तिम दिन सबै जना भाइटीकाको माहौँलमा ब्यस्त भैरहँदा वाग्मती सफाइ अभियानकर्मीहरुले भने गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा जम्मा भएर सफाईमा अभियानलाई निरन्तरता दिएका छन् ।

विसं २०७० जेठ ५ गते सुरु भएको वाग्मती सफाइ महाअभियान चाडपर्व, जाडो, गर्मी, प्राकृतिक प्रकोपजस्ता प्रतिकूल अवस्थामा पनि जारी रहेको छ र रहन्छ भन्ने शन्देष प्रवाह भैरहेको छ । गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा छठ पर्व मनाउन बाँस गाडेर छठ घाटलगायत संरचना निर्माण भइरहदा सफाइ महाअभियानले चार सय ४३ औँ हप्ता पुरा गरेको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सुचना अधिकारि कमल अर्यालले सफाई अभियान निरन्तर रहने जानकारी दिए । सफाइबाट जम्मा गरिएको फोहर अधिकार सम्पन्न वाग्मतीको कार्यालय आगाडि थुपारिएको छ । काठमाडौं महानगरपालिकाले सफाई अभियानबाट संकलित फोहर व्यवस्थापन गरिरहेको छ ।

तिहारको भाइटीकाका दिन समेत सफाइमा एक सय जनाभन्दा बढी अभियानकर्मी खटिएका थिए । सफाइमा पूर्व मुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, समितिका कर्मचारी, अभियानकर्मीलगायतको उपस्थिति देखिएको थियो । महाअभियान सुरु भएपछि काठमाडौं उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियानले पनि तिब्रता पाउँदैआएको छ । चक्रपथका विभिन्न खण्डसमेत गरी अहिले काठमाडौं उपत्यकामा २५ ठाउँमा सफाइ भइरहेको छ । सांस्कृतिक सम्पदामा पनि वाग्मतीकै प्रभावले सफाइ अभियान चलिरहेको छ । अहिले उपत्यकाको गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमतीको तल्लो र माथिल्लो भाग, मनोहरा, ललितपुरको गोदावरी खोलालगायत ठाउँमा सफाइ अभियनकै रुपमा भइरहेको छ ।

बाग्मती सफाइ अभियानको प्रभावले उपत्यकाबाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदा स्थलमा पनि सफाइ भइरहेको छ । सफाइ महाअभियानले देशव्यापी रूपमा जागरण ल्याएर काठमाडौं उपत्यकाबाहिर एक सय आठ ठाउँमा सफाइ भइरहदा स्थानीय सरकारबाट सहयोग नपाएको गुनासो अभियानकर्मीले गरिरहेका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्