Techie IT
Mission Khabar

सकियो तिहार, तराई– मधेसवासी छठ पूजाको तयारीमा व्यस्त


जनकपुर, काठमाडौं । तिहार अन्तर्गत भाइटिका सम्पन्न भएपनि मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी सुरु भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त बनेका हुन् । अहिले जनकपुरधामसहित तराई–मधेसका प्रमुख बजारमा किनमेल गर्नेहरुका कारण निकै चहलपहल बढेको छ ।

छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको भीडभाड बजारमा देख्न सकिन्छ । खास गरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन् । यो समय माटो तथा बाँसका सामग्री खरिद समेत गरिन्छ । अहिले छठ पर्व मनाउनेहरू पोखरीको डिल र नदी तटको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन लागि परेका छन् । घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम भइरहेको छ । जनकपुरको गङ्गा सागर, धनुष सागर, अग्निकुण्ड, अङ्गराजसर, दशरथ तलाउलगायतका तराई मधेश र काठमाडौं उपत्यकाका पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गरिदै छ ।

छठ पूजाका लागि तराई मधेशका व्रतालुहरू राति पूजा गर्ने ठाउँमा नै बस्छन् भने ग्रामीण क्षेत्रमा धेरैजसो व्रतालु बेलुका घर फर्किछन् र भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अघ्र्य दिन्छन् । छठ मनाउँदा चर्म रोग निको हुने, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास रहदैआएको छ । तराई मधेशमा सिमित छठ पर्व अहिले देशैभर विस्तार पाउने क्रममा छ ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्