Techie IT
Mission Khabar

आज न्वागी खाने पर्व, कृषकहरुमा परम्परा बचाउने चिन्ता


काठमाडौं । भर्खरै नयाँ धान बाली भित्र्याएका हिन्दू परम्पराका पर्वते (पहाडी) मूलका किसानहरुले आज न्वागी खाने पर्व धुमधामका साथ मनाउँदैछन् । कात्तिक शुक्ल एकादशी पर्व (ठूली एकादशी, हरिबोधनी एकादशी) को साङ्गता (समापन) सँगै नयाँ अन्न होमादी गर्दै कात्तिक शुक्ल द्वादशीका दिन न्वागी खाएर (नयाँ धानको चामल दही र सख्खरमा भिजाइएको परिकार खाइने परम्परा) देशका अधिकांश किसानमाझ प्रचलनमा छ ।

पर्वका अवसरमा घरघरका आँगनमा रहने तुलसीका मठ नजिकै नयाँ धानको चामलमा घिउ (घ्यू) र तिल मुछेर वैदिक मन्त्रोञ्चारणसहित पुरोहितले होम गरेपछि नयाँ अन्न खानपीनमा वर्षभरि प्रयोग गर्न बाटो खुल्ने हिन्दू मान्यता रहँदै आएको छ । हिन्दूको आदि भाषा संस्कृतमा सबै अन्नलाई ‘धान्यादि’ भनिएर अन्नको राजा धानलाई मानिएको हुँदा नयाँ धान होम गरेर अग्नि देवतालाई चढाइएपछि सबै अन्न खानपीनमा प्रयोग गर्न सकिने धार्मिक मान्यताले यो पर्व परम्परा प्रचलनमा रहेको वैदिक कर्मकाण्डका ज्ञाता पण्डित रामप्रसाद बराल बताउँछन् ।

खासगरी पर्वते (पाहाडि) मूलका हिन्दू परम्पराको यो पर्व अब भने देखासिकीबाट मधेशी मूलका हिन्दूले पनि मनाउन थालेका छन् । वैदिक शास्त्रमा नयाँ अन्न प्रचलनमा ल्याउनअघि होमादि नगरिए त्यस्तो अन्न शुभकार्य र पितृकार्यमा नचल्ने भनिएको छ । सामान्यतया न्वागी खान कात्तिक शुक्ल द्वादशी नै उपयुक्त रहेपनि मार्ग (मङ्सिर) शुक्ल पञ्चमीसम्म न्वागीका लागि होमादी गर्न सकिने परम्परा रहेको कर्मकाण्डी पुरोहित वष्णुप्रसाद दाहाल बताउँछन् ।

पर्वमा होमादी गर्न कूल पुरोहित वा अन्य कर्मकाण्डी व्राह्मण अनिवार्य हुने हुँदा आज पुरोहितको व्यस्तता पनि निकै बढेको छ । न्वागी पर्वमा होमादी अर्पण गरी इष्टजनलाई आमन्त्रण गरेर ख्वाउने खाने प्रचलन छ ।


क्याटेगोरी : कृषी / उद्यम, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्