Techie IT
Mission Khabar

बढ्दो मूल्यबृद्धीले उपभोक्ताको भान्सा महंगो बन्दै, किन सरकारी नियन्त्रणमा छैन बजार ?


काठमाडौं । बढ्दो महंगीले सामान्य काम गरेर गुजारा चलाउनेहरुको जीवनयापन कठिन बन्न थालेको छ । बिहानपख अलिकति भए पनि सस्तो तरकारी किन्न पाइएला भन्दै चोकचोकमा चाहार्ने उपभोक्ताहरु बजार भाउ सुनेर आत्तिन्छन् ।

सामाखुसी स्थित टोखा नगरपालिका १० की हरिमाया तामाङ एउटा सानो पसल चलाएर परिवारको गुजारा धानिरहेकि छिन् । उनी बिहान मनिङवाक हुँदै माछापोखरी पुगिन । काउलीको भाउ सोध्दा उनहो झण्डै होस हवास नै उड्यो । ‘ दशैं तिहारमा १ सय ८० देखि २ सय रुपैयाँ किलो पुगेको काउली अहिले २ सय २० पुगेछ, नकिनी फर्किएँ,’ तामाङले आश्चर्य मान्दै भनिन् । पहिले १ सय रुपैयाँ भएको सबै तरकारीको भाउ अहिले १ सय ५० रुपैयाँभन्दा नभएको उनले बताइन् ।

एक हातमा चामल र अर्को हातमा आलु झुण्ड्याउँदै पसलबाट घर फर्कँदै गरेका मनोज मगरसँग खरिबोटमा जम्काभेट भयो । उनी बजार भाउबाट आजित भएको पीडा पोख्न थालिहाले, ‘चिनी पनि अचाक्ली महँगो भयो । किलोको झण्डै १ सय तिर्नुपर्यो, केही समय अघि मात्रै ८५ देखि ९० मा पाइने चिनिमा मनलाग्दी मुल्य बढ्दा हेर्ने निकाय कुनै छैन ? उनी प्रश्न समेत गर्दै थिए । चामलमा समेत एक महिना नपुग्दै बोरामै ५० देखी १०० रुपैयाँ बढ्ने गरेको, गुणस्तरिय चालम समेत खान नपाएको मनोजको गुनासो छ ।

यी प्रतिनिधि पात्र मात्र हुन् । अहिले बजारमा तरकारी, फलफूल, चिनी, चामल, तेल जस्ता खाद्य सामग्रीको भाउ उच्च बिन्दुमा पुगेको छ । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जारी गरेको मूल्य सूची हेर्दा नै रातो आलु किलोको औसत ७१ भए पनि बजार भाउ भने १ सय भन्दा कम छैन । खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बज्राचार्य नै खाद्य सामग्रीहरु तेल, चिनी, मैदा, चामल, दाल, गेडागुडी तथा डाल्डा घ्यूमा उचाक्ली मूल्य बढेको बताउँछन् ।

सबैभन्दा धेरै खाने तेलको भाउ बढेको छ । तेलमा प्रति लिटर झण्डै ५० देखि १०० रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । एक महिना अघिसम्म लिटरको २ सय ४० रुपैयाँमा बिक्री भइरहेको फेमिली ब्रान्डको सनफ्लावर तेल अहिले २ सय ६० मा किनबेच भैरहेको छ । सनफ्लो सनफ्लावर तेल लिटरको २ सय ५० मा बिक्री भइरहेकोमा अहिले २ सय ९० रुपैयाँ पुगेको छ । मैदा किलोको ४५ रुपैयाँमा बिक्री भइरहेकोमा केही दिनदेखी ५० पुगेको छ । खाने तेलको लिटरमा औसतमा १ सय रुपैयाँ मूल्य बढेको छ ।

चामल र गेडागुडीमा समेत मुल्यबृद्धी
एक महिना अघिको तुलनामा जुनसुकै ब्रान्डको २५ किलोको जिरा मसिनो चामल किन्दा औसतमा ५० रुपैयाँ बढि तिनुपर्ने भएको छ । दाल किलोमा २० देखि ३० रुपैयाँ बढेको छ । गेडागुडीमा पनि किलोको २० देखि ३० रुपैयाँको महंगी थपिएको छ । सरकारले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले चिनी आयातमा कोटा तोकेपछि चिनी अभावसँगै मुल्य आकाशिएको छ ।

खै त बजार अनुगमन र उपभोक्तालाई राहत ?
हुनत, बढ्दो मूल्य नियन्त्रणका लागि उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गरिरहेको दाबी गर्छ । महिनामा सयौँ र वर्षमा हजारौँ प्रतिनिधि स्थलमा पुगेर बजार अनुगमनसँगै मनोमानी मुल्य नियन्त्रणमा दबाब सिर्जना गरेको दाबी गर्ने विभागले उपभोक्तालाई कहिल्यै राहत दिलाउन सकेको छैन । बरु आम उपभोक्ताहरु विभागको अनुगमन काम देखाउने र ठूला व्यापारिसँग लाभ लिने नौँटंकी मात्रै भएको बताइरहेका छन् । उपभोक्ता अधिकारकर्मीको खबरदारी पनि प्रभावकारी देखिन सकेको छैन ।

अझ, पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण उपभोक्ताको भान्सा अझ महंगो हुने देखिन्छ । देश खुला बजार व्यवस्थामा गएका कारण कुनै पनि खाद्य तथा पेय पदार्थको मूल्य निर्धारण गर्ने काम व्यापारीले आफ्नो लागत तथा गुणस्तरको आधारमा गरिरहेका छन् । उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका निर्देशक शिवराज सेढाईं आफूहरु हस्तक्षेप गर्न सक्ने नभइ केवल नियमन गर्न मात्र सक्ने अवस्थामा रहेको बताउँछन् । विभागागले वस्तु तथा सेवा बढी कारोबार हुने चाडपर्व तथा जात्रामा आवश्यक्ता हेरेर बजारको अनुगमन गरिरहेको छ । बजारलाई अनियन्त्रित हुन नदिन वाणिज्य विभागले तोकेको निरीक्षण अधिकृतको मातहत अन्तर्गत रहेर अन्य कर्मचारीले निरन्तर बजार अनुगमन गरिरहेको दाबी गर्दा उपभोक्ता भने झन झन महंगीको मारमा छन् ।

विभागले गरेको कार्तिकको अनुगमन र कारबाही
विभागको तथ्यांक हेर्दा कात्तिक महिनामा १७ पटक अनुगमन भएको देखिन्छ । कात्तिक १७ गते २२ वटा पसलमा अनुगमन भएको थियो । अनुगमन गरिएको ११ वटा पसललाई जनही ५ हजारका दरले कारबाही गरेर ५५ हजार जरिवाना असुल गरेको विभागले जनाएको छ । यस्तै कात्तिक २२ गते भने १२ वटा पसलमा विभागले अनुगमन गरेको थियो । यस्तै विभागले काठमाण्डौ, ललितपुर तथा भक्तपुरका मिठाई, खाजा, खाना, बेकरी, तरकारी, फलफूल तथा जुस पसलमा अनुगमन गरेर ६ वटा पसललाई क्रमशः ५\५ हजार जरिबाना गरेको देखिन्छ ।

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना सबै खाद्यवस्तुमा महँगी बढेको स्विकार गर्छन । व्यापारीले चाडपर्वका अवसरमा कृत्रिम अभाव सिर्जना गरेर वा त्यसै पनि मूल्य बढाउने गरेको विगतले निरन्तरता पाएको दाबी गर्ने उनी बढ्दो मूल्य नियन्त्रणका लागि उपभोक्ता नै सचेत हुनुपर्ने बताउँछन् । सबै प्रकृतिका पसल, व्यवसायमा मूल्य सूची अनिवार्य राख्न भनिएको छ । तर धेरैले मुल्य सार्वजनिक गरेका छैनन । उपभोक्ता हित संरक्षण ऐनले पनि पसलमा मूल्य सूची अनिवार्य गरेको छ । यसबाट पनि उपभोक्ता ठगिनुपर्ने अवस्थामा छन् । राज्यले पसल व्यवस्थापन तथा सञ्चालनका लागि केही नीति ल्याउनुपर्ने र स्थानीय निकायले कडाईका साथ नियमन गर्नुपर्ने खाँचो छ ।

बजारमा अनुगमन पनि भैरहने अनि उपभोक्ताले किन्नै नसक्नेगरि बजारमा हरेक खाद्य वस्तुको मूल्य बढिरहने यसले सरकारको नियमन संयन्त्रमाथी नै प्रश्न उब्जाएको छ । बजार अनुगमन यति कारबाही उति कारबाही भन्दै तथ्यांक र राजश्व असुली बढाउन मात्रै हो वा उपभोक्तालाई राहत र सहुलियत दिन ? यो प्रश्नको जवाफ महंगिको मारमा पिल्सिएका नागरिकले सरकारसँग खोजिरहेका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्