Techie IT
Mission Khabar

कांग्रेसको ललितपुर सभापतिमा महर्जन, श्रेष्ठ र चित्रकारले बहुमत पुर्याउन सकेनन, आइतबार पुनः मतदान


ललितपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ललितपुर सभापतिका लागि प्रतिस्पर्धा गरेका मीनकृष्ण महर्जन, जितेन्द्र कुमार श्रेष्ठ र रामकृष्ण चित्रकारले बहुमत पुर्याउन नसकेपछि पुनः चुनाव हुने भएको छ । ललितपुरको स्टाफ कलेजमा भएको मतदानपछिको नतिजामा रामकृष्ण चित्रकारले ५०४, जितेन्द्र श्रेष्ठले ४८२ र मीनकृष्ण महर्जनले ३३६ मत प्राप्त गरेपछि पुन मतदानको अवस्था आएको हो ।

नेपाली कांग्रेसको बिधान अनुसार विजय प्राप्त गर्न खसेको मतको ५१ प्रतिशत ल्याउनुपर्ने हुन्छ । अब सबैभन्दा बढी मत ल्याउने चित्रकार र श्रेष्ठबीच आइतबार फेरि प्रतिस्पर्धा हुने भएको छ । आइतबार विहान ८ बजेदेखि १ बजेसम्म मतदान हुने कांग्रेसले जनाएको छ । ललितपुरमा श्रेष्ठ र महर्जन एउटै टिमबाट सभापतिको उम्मेदवार बनेका थिए । तर, अरु पदाधिकारीमा संयुक्त प्यानल उठाएका छन् । महर्जनको राजनीतिक पृष्ठभूमि भन्दा पनि प्रहरी सूचिमा डनको लिस्टमा नाम भएकाले पनि ललितपुरको यो चुनावलाई चासोका साथ हेरिएको छ ।

सभापतिमा अलगअलग उम्मेदवारी दिए पनि दोस्रो चरणमा प्रतिस्पर्धा गर्दा कम मत ल्याउनेले बढी मत ल्याउनेलाई सघाउने समझदारी महर्जन र श्रेष्ठबीच भैसकेको छ । नेता उदयशमशेर राणाले सहजीकरण गरे अनुसार मत आएमा पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने चित्रकार पराजित भएर श्रेष्ठ ललितपुर कांग्रेसको सभापति बन्नेछन् । जिल्लाको लोकप्रियताका आधारमा मत विभाजन भएर चित्रकार नै सभापति बन्ने सम्भावना पनि उत्तिकै छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्