Techie IT
Mission Khabar

मौसमी प्रणालीमा पश्चिमी वायु र अरव सागरको प्रभाव, थप चिसो बढ्दै


काठमाडौं । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव स्वरुप साँझबाट नेपालको मौसमी प्रणालीमा परिवर्तन हुने भएको छ ।

सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम , कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारि दिएको छ । मौसमी प्रणालीमा देखापर्ने बदलीका कारण बुधबारदेखि देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश , लुम्बिनी प्रदेश, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरूका धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहनुको साथै उक्त प्रदेशहरूका पहाडी तथा तराइका केही भू–भागहरूमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

योसँगै आगामी दिनहरूमा तापक्रममा समेत गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको छ । आउँदो शुक्रबारबाट क्रमशः यो प्रणाली सुदूरपश्चिम प्रदेशका क्षेत्रबाट अन्य क्षेत्रमा सर्दैजाने आँकलन गरिएको छ । यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई र यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने आँकलन गरेको महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।

परिवर्तित मौसमी प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको महाशाखाले आगामी आइतबारबाट चिसो थप बढ्ने भन्दै सचेतनाको अपिल समेत गरेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्