Techie IT
Mission Khabar

हाम्रो शिक्षा प्रणाली : बालबालिकामा किताब कापी र गृहकार्यको अनावश्यक बोझ


काठमाडौं । एक्काइसौं शताब्दीमा पनि व्यावहारिक र जीवन उपयोगी शिक्षाको अवधारणा लागू हुन नसक्नु हाम्रा लागि बिडम्बना नै हो । हाम्रो शिक्षा पद्धतिका कारण बालबालिका एकातिर किताब–कापीको गह्रौं भारीले थिचिएका छन् भने, अर्कातिर गृहकार्यको तनावमा पर्दैआएका छन् ।

सामान्य लेख पढ तथा खेलकुदमा रमाउने बेलाका बालबालिका आफुभन्दा भारी किताब, कापी बोकेर विद्यालय जान बाध्य छन् । बालबालिकाका लागि खेलकुद तथा अतिरिक्त क्रियाकलाप खासै भएको देखिदैन । विश्वभरका विद्यालय तथा शिक्षा प्रणालीमा समय सापेक्ष सुधार भैरहेको छ । तर नेपालका विद्यालयमा उही पुरानै घोकन्ते प्रणलीबाट नै पठन पाठन जारी छ । विद्यालय सन्चालन हुने समय ५ देखि ६ घण्टा हुन्छ तर नेपालका विद्यार्थीले ७ देखि १२ घण्टा विद्यालयमै बिताउने गर्छन् । नेपालका विद्यालयमा कुनै मापदण्ड विना नै शैक्षिक सत्र सञ्चालन हुने गरेको छ । । अझ निजी विद्यालयले त नेपाल सरकारले निर्माण गरेको पाठ्यक्रम भन्दा अत्यधिक बढि पाठ्य पुस्तकको बोझ थोपरिरहेका छन् ।

कक्षा १ मा अध्ययन गर्ने बालबालिकाका लागि नेपाल सरकारले ५ बटा पुस्तक लागू गरेको छ । तर हिजो आज कक्षा एकमा अध्ययन गर्ने बालबालिकाले १०,११ वटा पुस्तक अध्ययन गर्नुपरिरहेको छ । शिक्षाविद् मनप्रसाद वाग्ले यस्तो शिक्षा प्रणालीका कारण विद्यार्थी पढाइको अनावश्यक चापमा परेको र गुणस्तर पनि सुधार हुन नसकेको बताउँछन् । यस्तो बोझिलो शिक्षा प्रणाली सामुदायिक तथा सरकारी भन्दा पनि निजी विद्यालयमा बढी देखिएको छ । उत्कृष्ट नतिजा ल्याउनका लागि र विद्यालयको प्रचारकै लागि भएपनि निजी विद्यालयले गृहकार्य र अतिरिक्त किताबको बोझ विद्यार्थीमाथि थोपर्ने गर्छन् । यता, अभिभावक पनि धेरै गृहकार्य गर्दा शैक्षिक गुणस्तर सुध्रिने ठान्छन् । निजी विद्यालय सन्चालकहरु भने अभिभावकले नै धेरै गृहकार्य दिन दबाब दिने गरेको दाबी गरिरहेका छन् ।

निजी विद्यालय र अभिभावकको साँघुरोँ सोचका कारण विद्यार्थीमाथि अनावश्यक दबाब परेको छ । विद्यार्थी माथि नचाहिदो दबाबका कारण मानसिक समस्या समेत बढ्न थालेको छ । अनावश्यक रुपमा थोपरिएको पढाइको बोझका कारण बालबालिकाले खेल्ने, रमाउने, अतिरिक्त क्रियाकलाप तथा सिर्जनात्मक गतिविधिका लागि समय नै पाउँदैनन् । जसले गर्दा विद्याथीको सिजनात्मक क्षमता घट्ने देखिन्छ । बालबालिकाहरुको मनोविज्ञान बुझेर व्यवहारिक ज्ञान बाढ्न निजी विद्यालय सञ्चालक र अभिभावक जिम्मेवार बन्ने कि ?


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्