Techie IT
Mission Khabar

अष्ट्रेलिया जाने हतारोमा नेपाली विद्यार्थी, सीमा खुलेसँगै शैक्षिक परामर्श केन्द्रमा भीडभाड


काठमाडौं । विद्यार्थीहरुका लागि अष्ट्रेलियाको सीमा खुला भएसँगै नेपालका विभिन्न शहरमा रहेका शैक्षिक परामर्श केन्द्रमा विद्यार्थीको आवतजावत र चहलपहल बाक्लिन थालेको छ । काठमाडौं, चितवन र बुटवलदेखि बिराटनगरसम्मका कन्सल्टेन्सीहरुमा शैक्षिक परामर्शदाताहरुको शक्रियता पछिल्ला केही दिनमा ह्वात्तै बढेको छ ।

अष्ट्रेलियामा विद्यार्थी पठाउँदै आएका संघ संस्थाहरु अहिले विद्यार्थी पठाउन र परामर्श दिन व्यस्त छन् । अष्ट्रेलियाको बोर्डर खुल्ने चर्चासँगै केहि कन्सल्टेन्सीहरुले अष्ट्रेलिया अध्ययन गर्न जान चाहने विद्यार्थी र अष्ट्रेलियाका कलेज सञ्चालक÷प्रतिनिधिहरुसँग डिसेम्बर १ मा ‘वान अन वान’ सेसन कार्यक्रम नै सञ्चालन गरेका छन् । नयाँ बानेश्वरमा रहेको शुभगृह इन्स्टिच्यूट एण्ड कन्सल्टेन्सीले अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि सेमिनार आयोजना गरेको छ । सो सेमिनारमा सिड्नी सिटी अफ म्यानेजमेन्ट कलेजकी सञ्चालक एवं सामाजिक अभियन्ता रञ्जु थापासंग अष्ट्रेलिया अध्ययनका लागि जान चाहने विद्यार्थीहरुले साक्षात्कारको अवशर पाएका छन् । अष्ट्रेलियाका विविध विषयमा जानकारी दिइएको शुभगृहका सञ्चालक एवं शैक्षिक परामर्शदाता सुवेन्द्र थापाले जानकारि दिए ।

यता, बागवजारमा रहेको आईडीबी नेपाल एजुकेशन कन्सल्टेन्सीका सञ्चालक इश्वर घिमिरेले अष्ट्रेलियन सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि ढोका खोलेसंगै आफ्नो व्यस्तता बढेको बताएका छन् । पछिल्लो समय अष्ट्रेलियामा अध्ययन गर्न चाहनेहरुले नियमित सम्पर्क गरिरहेको शैक्षिक परामर्शदाताहरुको समुह नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले जानकारि दिएका छन् । अब अष्ट्रेलीया जाने विद्यार्थीले नियमित प्रकृयाबाट विगतमा झैं यात्रा गर्न सक्ने इक्यानले जनाएको छ ।

अष्ट्रेलिया सरकारले समेत अब सीमा बन्द नहुने जानकारि गराईसकेको छ । डिसेम्बर १५ देखि पूर्ण रूपमा खोप लगाइएका योग्य भिसा धारकहरू अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष, शरणार्थी, मानवीय, अस्थायी र अस्थायी पारिवारिक भिसा धारकहरूले यात्रा छुटको आवेदन नगरी अष्ट्रेलिया जान पाएका छन् । यो व्यवस्था अन्तर्गत अष्ट्रेलिया प्रवेश गर्न चाहने यात्रुले अष्ट्रेलियाको थेराप्यूटिक गुड्स एडमिनिस्ट्रेशनद्वारा स्वीकृत वा मान्यता प्राप्त भ्याक्सिनको सम्पूर्ण डोज लिएर पूर्ण रूपमा खोप लगाएको हुनुपर्नेछ ।

कति नेपाली विद्यार्थीले अष्ट्रेलियाको भिषा लगाएका छन त ?
कोरानाका कारण नेपालबाट विद्यार्थी जान रोकिएको दुई वर्ष बढी भएको छ । शिक्षा मन्त्रालयका अनुसार कोरोना संक्रमण फैलनुभन्दा अघिल्लो वर्ष ६५ हजार बिद्यार्थीलाई ‘नो अब्जेक्सन’ लेटर दिएको थियो । यी मध्ये धेरै विद्यार्थी कोरोनाका कारण विदेश जानबाट रोकिएका छन् । अहिले अष्ट्रेलियाको भिसा पाएका ३७ सय नेपाली विद्यार्थी मध्ये केही सीमा खुल्ला भएसँगै अष्ट्रेलिया पुगिसकेका छन् । अष्ट्रेलिया पुगेका विद्यार्थी बारेको आधिकारिक तथ्यांक अध्यागमनले सार्वजनिक गरेको छैन ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्