Techie IT
Mission Khabar

जाडोमा आगो ताप्दा, हिटर बाल्दा, गिजर प्रयोग गर्दा यस्तो सावधानी अपनाऔँ !


काठमाडौं । जाडोको समयमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा हुनसक्ने जोखिमबाट बच्न विभिन्न सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । जाडोयाममा शरीर र कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपाय अपनाउँदा हुने अप्रिय घटना रोक्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पर्याप्त सावधानी अपनाउन आग्रह गरेको हो ।

हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्न, हिटर बाल्न वा गिजर प्रयोग गर्न सरकारले सबैलाई आग्रह गरेको छ । कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न भनिएको छ । आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न र आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । यस्तै हिटरको प्रयोग गर्दा समय समयमा चलिरहेको हिटरलाई बन्द गर्ने र सुत्नुअगाडि अनिवार्य रूपमा हिटर बन्द गर्न, गिजरको मुख्य मेशिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्न र गिजर खोलेर लामो समयसम्म बाथरुममा नबस्न सचेत गराइएको छ ।

सावधानी नअपनाउँदा देशका विभिन्न स्थानमा विभिन्न खालका अप्रिय घटना हुने गरेका छन् । यहि जोखिमका कारण मन्त्रालयले जाडोको समयमा न्यानो हुनका लागि प्रयोग गरिने सामग्रीको प्रयोग सावधानीपूर्वक गर्न आग्रह गरेको हो ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्