Techie IT
Mission Khabar

अमेरिकामा आइसोलेशनको नियम खुकुलो बनाइयो, फ्रान्समा थप कडाइ गरिदै


एजेन्सी,काठमाडौं । अमेरिकाले लक्षण नदेखिएका कोरोना भाइरस सङ्क्रमित आइसोलेशनमा बस्ने अवधि दश दिनबाट घटाएर पाँच दिन कायम गरेको छ । सेन्टर्स फर डिजिज कन्ट्रोलले त्यसपछिका पाँच दिनमा मास्क लगाउन सुझाव दिएको छ । कोभिड सङ्क्रमण बढ्दै गएपछि अमेरिकाभरिको यात्रा अस्तव्यस्त हुँदा पछिल्लो घोषणा गरिएको हो ।

ओमिक्रोन भेरियन्टले अस्पतालमा भीडभाड बढाउने जोखिम रहँदा राष्ट्रपति जो बाइडेनले परीक्षणमा रहेका कमजोरीसँग जुझ्ने प्रतिबद्धता जनाउनुभएको छ । पछिल्लो विवरणबारे जानकारी दिँदै सीडीसीकी निर्देशक रुसेल वुलेन्स्कीले नयाँ परिवर्तनहरूले मानिसहरूले सुरक्षित रूपमा आफ्नो दैनिक जीवनलाई निरन्तरता दिने सुनिश्चित गरेको बताए । अमेरिकामा पछिल्ला दुई दिनमा दैनिक दुई लाखभन्दा बढी सङ्क्रमणका घटना देखा परेका छन् ।

यसैबीच फ्रान्सले ओमिक्रोन भेरियन्टका कारण प्रतिबन्धमा कडाइ गरेको छ । कर्फ्यु वा लकडाउन नलगाइए पनि सबैलाई मास्क अनिवार्य गरिएको छ ।कर्मचारीहरूलाई कम्तीमा तीन दिन घरबाटै काम गर्न भनिएको छ । पछिल्लो व्यवस्थामा ठूला भेलालाई सीमित बनाइएको छ र लामो दूरीका गाडीमा खान र पिउन प्रतिबन्ध लगाइएको छ ।


क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्