Techie IT
Mission Khabar

६ महिनामा शतप्रतिशत पूँजीगत खर्च होस्, मध्यरातमा पनि सहयोग गर्छु : अर्थमन्त्री शर्मा


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आर्थिक वर्ष २०७८\०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न सबै मन्त्रालयलाई आग्रह गरेका छन् । मंगलबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७८\०७९ को हालसम्मको खर्चको समीक्षा बैठकमार्फत मन्त्री शर्माले सचिवहरूलाई यस्तो गरेका हुन् ।

आवश्यक परे मध्यरातमा पनि आफू सहयोग गर्न तयार रहेको भन्दै मन्त्री शर्माले जसरी पनि बजेट खर्च गर्न आग्रह गरे । ‘आर्थिक वर्षको ६ महिना बितिसक्यो । बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ’, उनले भने, ‘त्यसको लागि मैले रातको १२ बजे पनि तपाईंहरूलाई सहयोग गर्न तयार छु।’ मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपायहरू खोज्ने बताउँदै जसरी पनि खर्च बढाउन आग्रह यस्तो आग्रह गरेका थिए । ठूला योजनाहरूमा स्थानीय तह र स्थानीय जनतालाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्नेमा जोड दिएका मन्त्री शर्माले विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

फाइल हरेक मन्त्रालयमा बोकेर हिँड्दा ढिला हुने भन्दै अब डिजिटल माध्यममा लैजानुपर्ने दाबी गर्दै मन्त्री शर्माले भने ‘फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुई-चार दिन जान्छ। यहाँ पनि समय गइरहेको छ, यसलाई डिजिटल माध्यममा लैजानुपर्यो । डिजिटलमै अनुरोध गर्ने र स्वीकृति गर्ने हुनुपर्यो । टिप्पणी उठाएर राख्ने काम आफ्नो ठाउँमा गर्नुपर्छ ।’

पछिल्लो समय पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयमार्फत मन्त्री शर्मा आफैले अन्य मन्त्रालयलाई ताकेता गर्दै आएका छन् । सोमबारसम्मको तथ्याङ्कअनुसार पुँजीगत खर्च ९.३९, चालु खर्च ३८.९ र वित्तीय खर्च २५.४१ प्रतिशत मात्रै छ । समग्रमा हालसम्म २९.११ प्रतिशत बजेट खर्च भएको छ । यसमा असन्तुष्ठ रहेका अर्थमन्त्रीले बजेट खर्च बढाउन दबाब दिइरहेका छन् ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश


तपाईको कमेन्ट लेख्नुहोस्