Techie IT
Mission Khabar

निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन ल्याइयो ‘एकीकृत सुरक्षा नीति’ !


काठमाडौं । सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित तरिकाले सम्पन्न गर्न भन्दै ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता बिहिबार बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो ।

स्थानीय तह निर्वाचन र अन्य निर्वाचन पनि यही सुरक्षा नीतिअनुरूप सम्पन्न गर्न सजिलो हुने सरकारी दाबी रहेको छ । निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न यो नीतिले सहयोग पुर्याउने गृह मन्त्रालयले जनाएको छ । बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र निर्वाचनमा सम्पन्न गर्न गर्नुपर्ने कार्यबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए । आगामी सुरक्षा चुनौती र ती चुनौतीलाई सम्बोधन गर्न अपनाउनुपर्ने रणनीतिबारे पनि छलफल भएको थियो। शुक्रबारदेखि हुने चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणमा सुरक्षाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल भएको थियो ।

बैठकमा गृहमन्त्री खाणले चिनियाँ विदेशमन्त्री वाङको भ्रमणका वेला आवश्यक सुरक्षा गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । बैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुनाथ खरेलको सहभागिता रहेको थियो ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्