Techie IT
Mission Khabar

बागमती गाउँपालिकाले उचाल्यो स्थानीय सरकार र पत्रकारबिचको फुटसल प्रतियोगिताको ट्रफी


ललितपुर । ललितपुरको बागमती गाउँपालिकाले स्थानीय सरकार र पत्रकारबिचको फुटसल प्रतियोगिताको ट्रफी जितेको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको आयोजनामा शनिबार भएको फुटसल प्रतियोगितामा महांकाल गाउँपालिकालाई ८–४ गोलले पराजित गर्दै बागमतीले उपाधि हात पारेको हो ।

महांकाल गाउँपालिका प्रतियोगिताको उप–बिजेता बन्यो । कुमारिपाटीस्थित निर्वाण स्कुलको फुटसल मैदानमा भएको प्रतियोगितामा ललितपुरका ६ वटै स्थानीय तह र पत्रकार महासंघ ललितपुरका दुई टीम सहभागी थिए।

पत्रकार महासंघ ललितपुरको ३० औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको खेलकुद मन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गरेका थिए । उद्घाटनमा मन्त्री गहतराजले जनप्रतिनिधिले गर्नु पर्ने कार्यक्रम महासंघले गरेको आभार व्यक्त गरे। जनप्रतिनिधि र पत्रकारबिच हुने प्रतियोगिताले सम्बन्ध थप मजवुद हुने मन्त्रीको भनाई थियो । महालक्ष्मी नगरपालिकाका १ का वडाध्यक्ष नन्दप्रसाद न्यौपानेले प्रतियोगिता राखेकोमा खुसी लागेर सहभागिता जनाएको बताए । ‘स्थानीय तहका जनप्रतिनिधिसँग जोडिनेगरी यो प्रतियोगिता हुनु खुसीको कुरा हो, न्यौपानेले भने, यस्ता कार्यक्रमले समग्र खेल क्षेत्रमै महत्त्वपूर्ण योगदान पुग्छ।’

महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले प्रतियोगिताले पत्रकार र जनप्रतिनिधिबिच सम्बन्ध बिस्तार त हुन्छ नै सधैं काम गर्ने जनप्रतिनिधि र पत्रकारलाई खेलसँग पनि जोडेको बताए। विदाइ हुँदै गरेका जनप्रतिनिधिसँग सम्झिरहने माध्यम पनि बन्ने अध्यक्ष न्यौपानेको विश्वास थियो । प्रतियोगितामा ललितपुर महानगरपालिका बागमति गाउँपालिका, महांकाल गाउँपालिका, कोन्जोसोम गाउँपालिका, गोदावरी नगरपालिका र पत्रकार महासंघका गरी ८ टिम सहभागी थिए।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्