Techie IT
Mission Khabar

खेतीयोग्य जमिनको ३० प्रतिशतमा मात्रै सिँचाइ सुविधा, बढ्दै परनिर्भरता !


काठमाडौं । नेपालमा ३० प्रतिशत मात्रै खेतीयोग्य जमिनमा सिँचाइ पुगेको पाइएको छ । नेपाल कृषि अनुसन्धान परिषदले सिँचित जमिन कम भएर खाद्यन्नहरुको उत्पादन गर्न सहज अवस्था नरहेको भन्दै यस्तो जानकारि दिएको हो ।

परिषदका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले नेपालमा धान, गहुँ र मकैको उत्पादन बढाउन सिँचाइ, मल र प्रविधिको उचित व्यवस्था गर्नुपर्ने स्पष्ट पारेका छन् । कृषिमा आत्मनिर्भर भएको देशको परनिर्भरता पछिल्लो समय बढ्दो क्रममा रहनुमा ७० प्रतिशत भू—भागमा सिँचाइको सहज सुविधा नपुग्नु, समयमा मल, विउविजन नपाउनु नै मुख्य कारण रहेको पाइएको छ । हिमाली र पहाडी जिल्लाहरुमा मात्रै नभएर तराईका कतिपय जिल्लाहरुमै सिँचाइको सुविधा पुर्याउन नसक्नु कृषक र देशकै लागि जल्लाको विषय भएको निर्देशक डा. भण्डारीले बताए ।

सिँचाइका लागि छुट्टयाएको बजेट तटबन्ध निर्माणमा खर्च हुँदा खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्न नसकिएको स्मरण गराउँदै भण्डारीले भने, ‘अहिले ३० प्रतिशत जग्गामा मात्रै सिँचाइ छ । सिँचाइ मन्त्रालयमा जाने पैसा सिँचाइको एरिया बढाउन होइन कि तटबन्ध निर्माणमा खर्च हुन्छ । यो साल तटबन्ध बनाउने अर्को साल भत्काउनमा मात्रै पैसा खर्च हुने भएकाले सिँचाइको एरिया बढाउने काममा समस्या छ । सिँचित जमिन नबढाई उत्पादन बढाउन सकिदैन । त्यसैगरी उत्पादन बढाउनका लागि मल र प्रविधिको पनि उचित व्यवस्था गर्नुपर्ने हुन्छ ।’

परिषदले हालसम्म ८० वटा वस्तुबालीका सात सय २३ जातहरु विकास गरी कृषकको खेतवारीमा पुर्याएको समेत जानकारि दिएको छ । माटोको डिजिटल नक्सांकन सार्वजनिक गरिएको, सुन्तला, जुनार र कागतीलाई चिस्यान कोठामा ३ महिनासम्म भण्डारण गर्न सकिने प्रविधि भित्र्याउने प्रस्तावलाई अघि बढाएको छ ।


क्याटेगोरी : कृषी / उद्यम, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्