Techie IT
Mission Khabar

३५ हजार २२१ पदमध्ये निर्विरोधसहित ३४ हजार ७४१ जनप्रतिनिधि निर्वाचित, काठमाडौंमा को ?


काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम अझै जारी छ। बुधबार बिहानसम्म निर्वाचन आयोगले जानकारि गराएको परिणाम अनुसार ५ महानगर, १० उपमहानगरसहित ७४५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ। दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ। ३५ हजार २२१ पदमध्ये निर्विरोधसहित ३४ हजार ७४१ पदमा जनप्रतिनिधि निर्वाचित भैसकेका छन् । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका १३ हजार ६३०, नेकपा (एमाले) का ११ हजार ७७६, नेकपा (माओवादी केन्द्र) का ५ हजार १९, जनता समाजवादी पार्टीका १ हजार ५३३, नेकपा (एकीकृत समाजवादी) का ९७९, लोकतान्त्रिक समाजवादी पार्टीका ५८१, राष्ट्रिय प्रजातन्त्र पार्टीका ३०३, राष्ट्रिय जनमोर्चाका १५९, नागरिक उन्मुक्ति पार्टीका ९९ जना विभिन्न पदमा निर्वाचित भएका छन् ।

यस्तै जनमत पार्टीका ९६, नेपाल मजदुर किसान पार्टीका ८५, जनता प्रगतिशील पार्टीका १७, तराई मधेस लोकतान्त्रिक पार्टीका १२, विवेकशील साझाका ११, नेपाल जनता पार्टीका १०, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नौ, नेपाल लोकतान्त्रिक पार्टीका सात, राष्ट्रिय जनमुक्ति पार्टीका सात, नेपाली कांग्रेस (विपी) का सात, बहुजन शक्ति पार्टीका छ, बहुजन एकता पार्टी नेपालका पाँच, नेपाल सुशासन पार्टीका चार, नेकपा माओवादी समाजवादीका दुई, नेपाल सद्भावना पार्टीका एक र स्वतन्त्रका ३ सय ८३ जना निर्वाचित भएका छन् ।

अन्तिम परिणाम आउन बाँकी स्थानीय तह
काठमाडौं महानगरपालिका र तुलसीपुर उपमहानगरपालिकासहित ८ वटा पालिकाको अन्तिम परिणाम आउन बाँकी छ। काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोलको जीत सुनिश्चित जस्तै बन्दा तुलसीपुरमा मेयर र उपमेयर दुबैतर्फ एमाले उम्मेदवारहरु जीत नजिक छन् । बाँकी एउटा पालिकामा एमाले र ५ वटामा कांग्रेस उम्मेदवारको अग्रता रहेको छ ।

काठमाडौं र तुलसीपुर बाहेक उदयपुरको त्रियुगा नगरपालिका र कटारी नगरपालिका, रौतहटको गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका, दाङको तुलसीपुर उपमहानगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । बाजुराको बुढीगंगा नगरपालिकामा अझै मतगणना सुरू भएको छैन।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, जीवन भोगाई, देश / प्रदेश


तपाईको कमेन्ट लेख्नुहोस्